‘आ बाट आमा २’को फस्टलुकः दशैँमा पनि आएनन् सन्तान!

0 Shares

काठमाडौं । “चर्किएको यो घरले फेरि सोध्यो… यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?” स्लोगनसहित फिल्म ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।

फस्टलुक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएका फुटेका सिसा र पुराना तस्बिरले भत्किँदै गएको परिवार र छिन्नभिन्न भएका सम्झनालाई संकेत गर्छन्।

पोस्टरको एउटा तस्बिरमा आमा–बुबाको भूमिकामा देखिएका प्रदीप रावत र विपना थापा अँगालोमा रोइरहेका छन्। उनीहरूमाथि उडिरहेको जहाजको तस्बिरले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाको कथा संकेत गर्छ। अर्कोतर्फ पल शाह र साइग्रेस पोखरेलका तस्बिरले परिवारसँग बिताएका विगतका खुसीका क्षणलाई सम्झाउँछन्।

पोस्टरमा पल शाह र साइग्रेसलाई निधारमा रातो टीका र जमरा लगाएर बसेको अवस्थामा देखाइएको छ, जहाँ आमाले उनीहरूलाई अँगालो हालेर रोइरहेकी छन्। आमाको निधारमा भने टीका र जमरा छैन। उनको अनुहारमा चाडपर्वको उत्साहभन्दा थकान, पीडा र विवशता झल्किन्छ।

पोस्टरको अर्को दृश्यमा लिङ्गे पिङ र दशैँको रौनकबीच पल शाहको परिवार देखिन्छ। विपना थापा पिङ खेलिरहेकी छन् भने पल शाहले उनलाई हल्लाइरहेका छन्। पछाडि प्रदीप रावत देखिन्छन्। आकाश श्रेष्ठ, साइग्रेस, गजित विष्ट र निकिता आचार्य पनि मुस्कानसहितको दृश्यमा समेटिएका छन्।

अर्को पोस्टरमा चाडपर्वका बेला विपना थापा र साइग्रेस खुसी देखिन्छन् भने प्रदीप र पल भने भावुक मुद्रामा छन्। त्यस्तै, पल शाह आमाबुबासँग रमाइरहेको ब्ल्याक एन्ड ह्वाइट तस्बिरसँगै रिस्ता गुरुङको रंगीन तस्बिर पनि पोस्टरमा समेटिएको छ।

“चर्किएको यो घरले फेरि सोध्यो… यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?” भन्ने स्लोगनले फिल्मको मूल भावलाई स्पष्ट पार्छ। घरका भित्ता र सिसा मात्र होइन, सन्तानको बाटो हेर्दाहेर्दै आमाको मन पनि चर्किएको भाव पोस्टरले प्रस्तुत गरेको छ।

चाडपर्वमा रित्तिँदै गएका नेपाली गाउँघर, रोजगारीका लागि परदेशिएका सन्तान र उनीहरूको पर्खाइमा जीवन बिताइरहेका आमाहरूको कारुणिक कथालाई फिल्मले पर्दामा ल्याउने प्रयास गरेको छ।

फिल्ममा पल शाह, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।

अघिल्लो वर्षको सुपरहिट फिल्म **‘आ बाट आमा’**को सिक्वेलका रूपमा निर्माण भएको फिल्म **‘आ बाट आमा २’**लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। कथा तथा पटकथा पनि पन्तकै हो।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई आरआर फिल्मले नेपालभर वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ। फिल्म आगामी असोज ३० गते, फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै