काठमाडौं, असोज १४ — अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को आकर्षक नृत्यसँगै ब्रेकडान्स प्रस्तुत गरिएको छ।
लामो समयपछि नेपाली फिल्ममा ब्रेकडान्सलाई विशेष प्राथमिकता दिइएको यो गीतको भिडियो दर्शकले रुचाउने निर्माण टिमको विश्वास छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको छ।
अडियोको तुलनामा भिडियो अझ आकर्षक बनाइएको ‘जुनेली’ले यसअघि फस्टलुक पोस्टरमार्फत निर्माण गरेको दर्शकको उत्सुकता र हाइपलाई थप बढाउने अपेक्षा गरिएको छ। विशेषगरी समीर र कृशुको जोडी तथा उनीहरूको नृत्यले गीतलाई चर्चामा ल्याउने देखिएको छ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन् भने महेश पौडेलले छायांकन गरेका छन्। सरस्वती भट्टको लगानी रहेको फिल्म आगामी असोज ३० गते दशैंको फूलपातीका दिन देशभर प्रदर्शन हुँदैछ।
फिल्ममा समीर भट्ट र कृशु शाहीसहित निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
यसै फिल्मबाट कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली फिल्ममा डेब्यु गर्दैछन्।
फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।