अमेरिकामा ‘पार्वती’लाई दर्शकको साथ, नीता ढुङ्गाना उत्साहित

0 Shares

काठमाडौँ। गत शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘पार्वती’ले सुरुवाती तीन दिनमै दर्शकको उत्साहजनक साथ पाएको छ। ‘द माया डिजिटल युएसए’ले वितरण गरेको फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै हाउसफुल भएको हो।

सेप्टेम्बर ११ देखि ‘पार्वती’ अमेरिकाका विभिन्न हलमा प्रदर्शन भइरहेको छ। सिनमार्क टिनसल्टोन रोचेस्टरमा साँझ ६ बजे, मार्कस पिकरिङटन सिनेमामा साँझ ६ः२० बजे, एप्पल सिनेमाज ह्वाइट प्लेन्समा साँझ ६ः३० बजे तथा सिनमार्क कुयाहोगा फल्स एण्ड एक्सडीमा दिउँसो १ः२५ बजे फिल्म प्रदर्शन भइरहेको छ।

फिल्म हेर्न हल पुगेका नेपाली दर्शकले यसको कथावस्तुसँगै मुख्य अभिनेत्री नीता ढुङ्गाना र बालकलाकार अशोक दर्जीको अभिनयको प्रशंसा गरेका छन्।

विदेशमा रहेका नेपाली दर्शकबाट पाएको माया र सकारात्मक प्रतिक्रियाले अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना उत्साहित छिन्। उनले मनदेखि बनाएको र फरक विषयवस्तुमा आधारित फिल्मलाई दर्शकले रुचाएको बताइन्।

‘मनदेखि बनाएको र फरक विषयवस्तुमा आधारित फिल्मलाई दर्शकले रुचाउनुभएको छ। आगामी दिनमा पनि यस्तै साथ पाउने आशा छ,’ उनले भनिन्।

हरिहर अधिकारी निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक नीता ढुङ्गानाकै हो भने पटकथा शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी, दीप्त प्रकाश अधिकारी, सिरु बिष्ट, आशा पौडेल, सुवास गजुरेल, राधिका कँडेल र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय छ।

सुदीप बरालको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन तथा साहिल खानको सम्पादन रहेको फिल्मका ‘तुनाको रेल’ र ‘दिदी भाइ’ बोलका गीत प्रदर्शनअघि नै चर्चामा आएका थिए।

नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गरेको ‘पार्वती’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै