काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ जोडिएका छन्। चौधरीले आफ्नो आगामी फिल्ममा अमरलाई मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरेका हुन्।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप फिल्ममा जोडिएका हुन्।
निर्देशक चौधरीका अनुसार अमरले यही फिल्मका लागि लक्षित गरेर साढे दुई वर्षदेखि अभिनय, एक्सन, मार्सल आर्ट र डान्सको तालिम लिइरहेका छन्।
“साढे दुई वर्षदेखि मेरो सल्लाहमा अमरले एक्टिङ, एक्सन, मार्सल आर्ट र डान्सको ट्रेनिङ गर्नुभएको छ। एउटा फिल्मका लागि साढे दुई वर्षदेखि तयारी गर्नु भनेको सानो लगाव र डेडिकेसन होइन,” सौरभले भने।
उनका अनुसार लामो समयको तयारी र प्रशिक्षणकै कारण अमरले फिल्ममा महत्वपूर्ण भूमिका पाएका हुन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘द राइज अफ साम्राज्य’ मल्टिस्टार फिल्मका रूपमा तयार हुँदैछ। ‘एपिक एक्सन ड्रामा’ भनिएको फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्।
निर्देशक चौधरीले यसपटक आफ्नो अघिल्ला फिल्मभन्दा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले फिल्मलाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्ममध्ये एक हुने दाबी गरेको छ।
फिल्म केही समयपछि छायांकनमा जाने तयारीमा छ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार गरेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।
मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशक रहने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन्।