वकालत पढ्दापढ्दै हिरोइन बनेकी ‘कार्की साइँला’ मानसी

0 Shares

फिल्म क्षेत्रमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेकी मानसी शर्मा असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’मार्फत दर्शकमाझ प्रस्तुत हुँदैछिन्। फिल्ममा उनले ‘कार्की साइली’को भूमिका निर्वाह गरेकी छन्।

मानसीका लागि ‘कार्की साइँला’ नेपाली रजतपटमा औपचारिक डेब्यु हो। पहिलो फिल्ममै जितु नेपाल, प्रियना आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्न पाउँदा उनी उत्साहित छिन्। तर, उत्साहसँगै नयाँ कलाकारका रूपमा दर्शकमाझ आफूलाई स्वीकार्य गराउने चुनौती र ‘अब के होला?’ भन्ने डर पनि रहेको उनी बताउँछिन्।

यद्यपि, आफ्नोतर्फबाट सक्दो मेहनत गरेको र त्यसले सार्थकता पाउनेमा उनी आशावादी छन्। आफू कलाकार बन्नकै लागि जन्मेको महसुस हुने बताउने मानसीका लागि अभिनय करियरको सुरुवात विशेष छ।

कलाकारितामा प्रवेश गरेको करिब तीन वर्ष भए पनि उनको यात्रा निरन्तर रहेन। सुरुवाती चरणमै पारिवारिक कारणले करिब एक वर्ष अभिनयबाट टाढिनुपरेको उनले बताइन्। आमाको निधनपछि अभिनय यात्रा रोकिए पनि पछि उनी पुनः यही क्षेत्रमा फर्किइन्।

बाल्यकालदेखि नै अभिनय र नृत्यमा रुचि रहेको मानसी बताउँछिन्। कक्षा १ मा हुँदा नै उनले ‘किताब’ नामक फिल्ममा काम गरेकी थिइन्। त्यसपछि कला क्षेत्रमा काम गर्ने रुचि अझ बढेको उनको भनाइ छ।

“सानैदेखि मलाई अभिनयमा इन्ट्रेस्ट थियो। फिल्ममा काम गरेपछि झन् रुचि बढ्दै गयो। म नाच्नसमेत राम्रोसँग जान्दिनथेँ, तर डान्स क्लासहरू जान्थेँ,” उनले भनिन्।

व्यावसायिक रूपमा अभिनयमा अघि बढ्ने तयारी उनले करिब तीन वर्षअघि सुरु गरेकी थिइन्। अभिनयसँगै नृत्यको प्रशिक्षण लिँदै एक वर्ष अभिनय तथा डान्स क्लासमा बिताएकी उनी एउटा फिल्ममा काम गर्ने तयारीमा थिइन्। त्यही क्रममा आमाको निधन भएपछि उनको अभिनय यात्रा केही समयका लागि रोकियो।

पछि पारिवारिक सम्बन्धकै माध्यमबाट उनले पुनः फिल्ममा काम गर्ने अवसर पाइन्। उनका बुबा अंग्रेजी शिक्षक हुन्। बुबाले पढाएका एक विद्यार्थी लेखक रहेको र उनैमार्फत आफूले फिल्ममा काम गर्ने अवसर पाएको मानसीले बताइन्।

पहिलोपटक साइड क्यारेक्टरमा काम गर्दा उनको अभिनय टिमलाई मन परेको थियो। त्यसपछि आगामी फिल्ममा पनि सँगै काम गर्ने प्रस्ताव आएपछि क्रमशः ‘कार्की साइली’को भूमिकासम्म आइपुगेको उनले बताइन्।

‘कार्की साइली’का लागि उनलाई राजेन्द्र बस्नेतले अप्रोच गरेका थिए। यसअघि उक्त टिमसँग काम गरिसकेकी मानसी केही समयदेखि नयाँ फिल्मको प्रतीक्षामा थिइन्। तर, मुख्य भूमिकाको प्रस्ताव आएपछि उनी उत्साहितसँगै केही डराइन्।

“लिड रोल भन्नेबित्तिकै सुरुमा डर लागेको थियो। आफू पर्फेक्ट छैन भन्ने लागिरहेको थियो। तर हरेक च्यालेन्ज अपनाउनुपर्छ भन्ने सोचेर काम गरेँ,” उनले भनिन्।

फिल्ममा उनको चरित्र ‘ड्रंक’ रहेकाले त्यसलाई विश्वसनीय बनाउन उनले विशेष तयारी गर्नुपरेको थियो। आफू मदिरा सेवन नगर्ने भएकाले त्यस्तो चरित्रलाई बुझ्न उनले विभिन्न व्यक्तिको व्यवहार अवलोकन गरिन्। वर्कसपमा निर्देशक तथा टिमसँग छलफल गरेर चरित्र निर्माणमा मेहनत गरेको उनको भनाइ छ।

“ड्रंक क्यारेक्टर कसरी गर्ने भन्ने सुरुमा गाह्रो लागेको थियो। मैले अब्जर्भ गरेँ, वर्कसपमा छलफल गरेँ। आफैँ ऐनाअगाडि बसेर ड्रंक भएर बोल्ने अभ्यास गर्थें। भिडियो बनाएर डाइरेक्टर र चिपेडी दाइलाई पनि पठाउँथेँ,” उनले सुनाइन्।

भूमिकाका लागि आफ्नोतर्फबाट शतप्रतिशत मेहनत गरेको उनको दाबी छ। अब दर्शकले आफ्नो चरित्रलाई कत्तिको रुचाउँछन् भन्ने कुरा उनीहरूको हातमा रहेको मानसी बताउँछिन्।

“मैले आफ्नोतर्फबाट एक सय प्रतिशत दिएको छु। अब दर्शकले कत्तिको माया गर्नुहुन्छ, साथ दिनुहुन्छ र मेरो क्यारेक्टरलाई कसरी बुझ्नुहुन्छ भन्ने कुरा उहाँहरूको हातमा छ,” उनले भनिन्।

‘कार्की साइली’को भूमिकाबाट आफूलाई दर्शकमाझ छुट्टै पहिचान दिलाउने उनको अपेक्षा छ। जितु नेपाल र प्रियना आचार्यजस्ता कलाकारसँग काम गर्न पाउनु पनि आफ्नो करियरका लागि महत्वपूर्ण अवसर भएको उनी बताउँछिन्।

“कार्की साइली भन्नेबित्तिकै नै एउटा इन्ट्रेस्टिङ क्यारेक्टर छ। फिल्म हेरेपछि दर्शकले मलाई कार्की साइलीका रूपमा नोटिस गर्नुहुन्छ भन्ने आशा छ,” उनले भनिन्।

उनका अनुसार ‘कार्की साइँला’को कथा भरियाको जीवन र उनीहरूले गर्ने संघर्षसँग जोडिएको छ। सामान्य रूपमा ‘भरिया’ भनेर बुझिने पात्रहरूको जीवनभित्र लुकेको संघर्ष, परिवार र समाजसँगको सम्बन्ध तथा जीवन गुजाराका विभिन्न पाटोलाई फिल्मले प्रस्तुत गर्ने उनको भनाइ छ।

“हामीले भरिया भनेर सिम्पल रूपमा सोचिरहेका हुन्छौँ। तर उहाँहरूको पछाडि कति ठूलो संघर्ष हुन्छ, कसरी परिवार र आफ्नो जीवन अगाडि बढाइरहनुभएको हुन्छ भन्ने कुरा फिल्ममा देखिन्छ। त्यससँगै रमाइला र सिक्न सकिने पक्ष पनि छन्,” उनले भनिन्।

नयाँ कलाकारका रूपमा फिल्म क्षेत्रमा आफूले अपेक्षा गरेभन्दा बढी मिडिया तथा फिल्म क्षेत्रको साथ पाएकोमा मानसी खुसी छिन्। सुरुमा आफूलाई कसैले नचिन्ने भएकाले मिडियामा पनि खासै स्थान नपाउने हो कि भन्ने लागेको भए पनि पत्रकार तथा सञ्चारकर्मीबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको उनले बताइन्।

“म कसैलाई चिन्दिनथेँ। नयाँ कलाकार भएकाले मलाई कसैले नचिन्नुहुन्छ होला भन्ने लागेको थियो। तर मिडियाका दाइ–दिदीहरूले धेरै सहयोग गर्नुभयो। फोन गरेर समेत के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ भनेर सम्झाउनुहुन्छ। मैले सोचेको भन्दा धेरै सपोर्ट पाएकी छु,” उनले भनिन्।

हालसम्म अर्को फिल्मको औपचारिक अफर नआएको उनले बताइन्। ‘कार्की साइली’बाट प्राप्त हुने दर्शक प्रतिक्रियापछि आगामी यात्राबारे सोच्ने उनको योजना छ।

मानसी आफूलाई कुनै निश्चित प्रकारको भूमिकामा सीमित गर्न चाहन्नन्। फरक–फरक चरित्र निर्वाह गर्ने कलाकार बन्ने उनको लक्ष्य छ। त्यसका लागि उनले अभिनयको प्रशिक्षणसमेत लिएकी छन्। करिब एक वर्ष अभिनय सिकेपछि फिल्मका लागि वर्कसपमा सहभागी भएको उनले बताइन्।

अभिनेत्री प्रियंका कार्कीबाट आफू प्रभावित रहेको पनि मानसीले बताइन्। प्रियंकाको मेहनत, अभिनयसँगै पारिवारिक तथा व्यक्तिगत जीवन व्यवस्थापन गर्ने शैलीबाट आफू प्रेरित हुने उनको भनाइ छ।

अभिनयलाई करियर बनाउने निर्णयमा भने सुरुमा उनको परिवारको पूर्ण समर्थन थिएन। उनी कानुन विषय अध्ययनरत छिन् र एलएलबीको अन्तिम वर्षमा छिन्। उनका बुबा छोरीले कानुनलाई नै करियर बनाओस् भन्ने चाहन्थे।

तर, फिल्ममा आफ्नो समर्पण देखेपछि बुबाको सोच परिवर्तन भएको मानसी बताउँछिन्।

“सुरुमा ड्याडीको सपोर्ट थिएन। म लयर बन्न आएको थिएँ र एलएलबी गरिरहेको छु। उहाँले पढाइमा ध्यान दिनु भन्नुहुन्थ्यो। तर मैले फिल्ममा डेडिकेट भएर काम गर्न थालेपछि उहाँले पनि मेरो इन्ट्रेस्ट बुझ्नुभयो र अहिले पूर्ण रूपमा सपोर्ट गर्नुहुन्छ,” उनले भनिन्।

उनका अनुसार ‘बिगुल’ फिल्म रिलिज भएपछि बुबाबाट फिल्म क्षेत्रमा काम गर्न थप समर्थन मिलेको हो। हाल उनी नेपाल ल क्याम्पसमा अध्ययनरत छिन्।

अभिनय र कानुनको अध्ययनलाई सँगसँगै अघि बढाइरहेकी मानसी अब ‘कार्की साइँला’मार्फत दर्शकमाझ आफ्नो परिचय बनाउन चाहन्छिन्। पहिलो ठूलो भूमिकाका रूपमा पाएको यो अवसरलाई करियरको महत्वपूर्ण मोडका रूपमा लिँदै उनले आगामी दिनमा फरक–फरक भूमिकामा आफूलाई प्रस्तुत गर्ने इच्छा व्यक्त गरेकी छन्।

सम्बन्धित समाचार

सबै