‘बेहुली’को शानदार व्यापार, दोस्रो हप्तामा सुखद प्रवेश

0 Shares

काठमाडौं। नेपाली फिल्म ‘बेहुली’ले पहिलो हप्तामा शानदार व्यापार गर्दै दोस्रो हप्तामा सुखद प्रवेश गरेको छ। प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार प्राप्त व्यावसायिक रिपोर्टअनुसार फिल्मले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

रिलिज भएका तथा केही समयअघि प्रदर्शनमा आएका अन्य फिल्मको तुलनामा ‘बेहुली’को यो व्यापार उच्च रहेको निर्माण पक्षको दाबी छ।

देशभरका विभिन्न हलमा दर्शकको राम्रो साथ पाइरहेको फिल्मका मुख्य कलाकार पारस बम ठकुरी ‘कुलब्वाय’ र दिव्या रायमाझी यतिबेला हल भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। हल भ्रमणका क्रममा कलाकारले दर्शकबाट उत्साहजनक माया र प्रतिक्रिया पाइरहेका छन्।

दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो व्यवसायसँगै ‘बेहुली’ले दोस्रो हप्तामा पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएको छ।

नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशहरूमा समेत प्रदर्शनमा आएको छ।

‘बेहुली’ले नेपाली समाजभित्रको यथार्थ भावना, युवा पुस्ताको मनोभाव तथा परिवारसँग जोडिएको मार्मिक कथालाई पर्दामा प्रस्तुत गरेको छ।

फिल्ममा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको लेखन माधव शर्माले गरेका हुन् भने निर्देशन सशान कँडेलले गरेका छन्।

फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

सम्बन्धित समाचार

सबै