काठमाडौं। निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली सिनेमा ‘बसन्ती’ निर्माणको घोषणा गरेका छन्। शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो।
यसअघि पनि ‘बसन्ती’ नाममै सिनेमा निर्माण भइसकेको छ। २०५७ सालमा नीर शाहले निर्देशन गरेको उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित थियो। उक्त सिनेमा प्रदर्शनमा आएको २६ वर्षपछि सोही नाममा रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन्।
‘बसन्ती’ निर्देशक रायमाझीको चौथो निर्देशकीय सिनेमा हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए। यी तीनै सिनेमा बक्स अफिसमा सफल भएका थिए।
निर्देशक रायमाझीका अनुसार सिनेमाको काठमाडौं सेड्युलको छायांकन असोज ३ गते शनिबारदेखि सुरु हुनेछ। निर्माण पक्षका अनुसार सिनेमाको छायांकन काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिनेछ।
रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमाको कथावस्तुबारे भने निर्माण पक्षले हालसम्म जानकारी सार्वजनिक गरेको छैन। ‘बसन्ती’मा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्।
उनीहरूसँगै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल र हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
सिनेमामा निर्देशक रायमाझी स्वयंको लगानी रहनेछ भने कथा रमेश बिजीले लेखेका हुन्। मुख्य सह-निर्देशकमा चन्द्र कुमार भट्टराई, एसोसिएट निर्देशकमा सुजता बस्याल राना तथा सह-निर्देशकमा यगे बहादुर राउत र सन्जीव चन्द रहेका छन्।
सिनेमाका गीतमा रमेश बिजी, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ। संगीत बिबि अनुरागी र नारायण रायमाझीले दिनेछन्। छायांकन शिव ढकालले गर्नेछन् भने सह-छायाकारमा जयन्द्र रावल रहेका छन्।
नहकुल खड्काले सम्पादन गर्ने सिनेमामा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी रहनेछ। श्यामश्वेत रसाइलीले साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टले भीएफएक्स र धन बहादुर राई (सन्देश)ले प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हाल्नेछन्।
त्यस्तै सेट डिजाइन तथा निर्माणमा हुम बहादुर बिक, आर्टमा धुर्व कार्की, श्रृंगारमा सरोज बुढाथोकी, ड्रेस डिजाइनमा श्रेया लो तथा लाइन प्रोडक्सनमा खेमराज अर्याल (मिराज) रहेका छन्।