नेपाली फिल्म ‘हली’ असोज ४ गते बेलायतमा प्रदर्शन हुँदै

0 Shares

काठमाडौँ। नेपालमा सफल प्रदर्शन गरिसकेको सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘हली’ अब बेलायतमा प्रदर्शन हुने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्म असोज ४ गते बेलायतको अल्डरशटस्थित ‘प्रिन्सेस हल’मा विशेष प्रदर्शनीका रूपमा देखाइनेछ।

बेलायतस्थित आयोजक संस्था सपन इन्टरटेनमेन्ट लिमिटेडका अनुसार प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको छ। बेलायतमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै ‘हली’को कथा र यसले उठाएको सामाजिक विषयसँग जोड्न विशेष प्रदर्शनी आयोजना गर्न लागिएको निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिएका छन्।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्मले छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषय बनाएको छ। सामाजिक तथा देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ। नेपालमा प्रदर्शनका क्रममा फिल्मको ट्रेलर, प्रमोशनल गीत र पोस्टरले दर्शकमाझ राम्रो चर्चा पाएका थिए।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय छ। निर्देशक ओम प्रतीकको पनि प्रमुख भूमिका रहेको छ।

फिल्मको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायत चर्चित कलाकारको नृत्य हेर्न सकिन्छ।

अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह-निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्युसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ।

जस्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत फिल्ममा समावेश छ। ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा कोरियोग्राफी गरेका छन्।

फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गरिरहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।

सम्बन्धित समाचार

सबै