काठमाडौं । नेपाली फिल्म ‘बा: एक योद्धा’ले काठमाडौंलाई पछि पार्दै मोफसलका दर्शकमाझ आफ्नो प्रिमियर गरेको छ। प्रायः नेपाली फिल्मले काठमाडौंमा प्रिमियर गरेपछि मोफसलका दर्शकमाझ पुग्ने अभ्यास रहे पनि ‘बा: एक योद्धा’ले भने त्यसको विपरीत यात्रा तय गरेको हो।
फिल्मको नेपालगञ्ज, दाङ, धरान र बुटवलमा अडियन्स प्रिमियर सम्पन्न भइसकेको छ। अब निर्माणपक्षले असोज ६ गते काठमाडौंमा फिल्मको प्रिमियर गर्ने तयारी गरेको छ।
मोफसलका दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माणपक्ष काठमाडौंका दर्शकको प्रतिक्रिया लिन उत्साहित देखिएको छ।
“हामीले नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो फिडब्याक पाएका छौँ। त्यस्तै प्रतिक्रिया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,” निर्देशक हरि लम्सालले भने, “हाम्रो सिनेमा जस्तो लागेको छ, त्यस्तै प्रतिक्रिया सामाजिक सञ्जालमा राखिदिन पनि आग्रह गरेका छौँ।”
निर्माता वसन्त लम्सालका अनुसार प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। “दिव्य देवको फिल्म करियरकै टर्निङ पोइन्ट ‘बा: एक योद्धा’ बन्ने प्रतिक्रिया पाएका छौँ,” उनले भने, “सुहाना थापाको अहिलेसम्मकै फरक र राम्रो फिल्म भएको प्रतिक्रिया पनि आएको छ।”
प्रिमियरमा फिल्म हेरेपछि एक युवतीले आफूले दिवंगत बुवालाई सम्झिएको बताइन्। “अहिले मेरो बा हुनुहुन्न। तर, यो फिल्मको बाले जस्तै हामीलाई स्ट्रगल गरेर हुर्काउनुभएको थियो। उहाँको सेन्डो सधैँ च्यातिएको हुन्थ्यो, तर मलाई र मेरो ममीलाई कहिल्यै पुरानो लुगा लगाउन दिनुभएन। यो फिल्म हेरेर मैले मेरो बालाई मिस गरेँ,” उनले भनिन्।
एक युवकले बुवाको संघर्ष नबुझेका सन्तानले फिल्म हेर्नुपर्ने प्रतिक्रिया दिए। “बुवाले गरेको संघर्ष नबुझेका सन्तानले एक पटक यो फिल्म हेर्नैपर्छ,” उनले भने।
त्यस्तै, एक महिला दर्शकले फिल्मले अभिभावकप्रति सन्तानको जिम्मेवारी र बुवाको संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताइन्। “बुबाआमालाई सन्तानले कहिल्यै घात गर्नु हुँदैन भन्ने सन्देश फिल्ममा छ। बुवाले फिल्मको सुरुदेखि अन्तिमसम्म गर्ने दर्दनाक संघर्षले मेरो मन छोयो,” उनले भनिन्।
बाबु–छोरीको सम्बन्धलाई फिल्मले प्रस्तुत गरेको तरिका पनि दर्शकले रुचाएका छन्। केही युवतीले प्रतिक्रिया दिँदै भने, “हो, यस्तै बुवा हुनुपर्छ। यस्तो बुवा भयो भने कुनै पनि छोरीले अन्याय भोग्नु पर्दैन।”
दर्शकले ‘बा: एक योद्धा’लाई अभिभावकीय जिम्मेवारी र बुवाको त्याग तथा संघर्षसँग जोडिएको फिल्मका रूपमा व्याख्या गर्दै हेर्न आग्रह गरेका छन्।
अडियन्स प्रिमियरमा कलाकार दिव्य देव, सुहाना थापा, अनिल बुढाथोकी र सुप्रज्ञा शर्मासँगै निर्देशक हरि लम्साल, निर्माता वसन्त लम्साललगायतको उपस्थिति थियो। बुधबार दाङमा फिल्मको ग्रान्ड प्रिमियर हुँदैछ।
असोज ९ गते रिलिज हुने ‘बा: एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीको कथा प्रस्तुत गर्छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता हुन्।
फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालले नै लेखेका हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। ‘बा: एक योद्धा’लाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।