काठमाडौं । प्रतीक्षित फिल्म ‘चमेलीको पोइ’को ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात र मानवीय सम्बन्धका विभिन्न पाटालाई प्रस्तुत गरिएको छ।
हाँस्दाहाँस्दै आँसु झार्ने अवस्था सिर्जना हुने संकेत गरेको ट्रेलरले पारिवारिक सम्बन्धको जगमा आधारित कथा प्रस्तुत गरेको देखिन्छ। फिल्म असोज १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।
निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक फिल्म भएको बताए। दर्शकलाई साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको उल्लेख गर्दै उनले भावनात्मक रूपमा पनि दर्शकको मन छुने विश्वास व्यक्त गरे।
करिब १८ वर्षको अन्तरालपछि यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गरेका चर्चित हास्य अभिनेता नारायण त्रिपाठीले ‘चमेलीको पोइ’बाट आफू निकै आशावादी रहेको बताए। अमेरिकामा आयोजित विशेष शोबाट दर्शकको माया र साथ पाएपछि आफू अझ उत्साहित भएको उनको भनाइ छ।
“अमेरिकामा रहेपछि म नेपाली फिल्ममा पुनरागमन गर्न चाहन्थेँ। बीचमा आफैँ फिल्म निर्माण गर्ने कोसिस पनि गरेको थिएँ। तर परिस्थितिले साथ दिएन,” उनले भने, “अहिले यो फिल्मबाट पुनः दर्शकमाझ आउँदैछु। यो मेरो अहोभाग्य हो। म पहिलेजस्तै फिल्म अभिनयमा निरन्तर हुन चाहन्छु।”
दुई दशकअघिसम्म ‘प्रेमचरो’ उपनामले फिल्म तथा सानो पर्दामा चर्चित रहेका त्रिपाठी एकाएक अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए।
अभिनेता मुकुनले ‘चमेलीको पोइ’ले दर्शकलाई बेजोड हँसाउनुका साथै केही ठाउँमा गम्भीर पनि बनाउने बताए। आफूले यसअघि यस्तो किसिमको कमेडी फिल्ममा काम गर्ने अवसर नपाएको उल्लेख गर्दै उनले भरपूर मनोरञ्जनका लागि फिल्म नछुटाउन आग्रह गरे।
अर्का अभिनेता विल्सन विक्रम राईले फिल्म मनोरञ्जनले भरिपूर्ण रहेको बताए। उनले नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ फिल्ममा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे।
यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेका उमेश राई ‘फुलन्देकी आमा’ले पनि आफू फिल्मलाई लिएर निकै आशावादी रहेको बताए।
अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि दोस्रोपटक सहकार्य गरेको उल्लेख गर्दै आफूले खोजे–चाहेजस्तै कथा, परिवेश, पात्र र चरित्रमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
मुकुन र नारायण त्रिपाठीजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाएकोमा गौरवान्वित महसुस गरेको बताउँदै उनले ‘चमेलीको पोइ’ हरेक कोणबाट मनोरञ्जक फिल्म बनेको दाबी गरिन्।
निर्माता रामनारायण उपाध्यायले उत्कृष्ट फिल्म बनाउन आफूहरूले कुनै कसर बाँकी नराखेको बताए। दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले फिल्म निर्माण गरिएको उल्लेख गर्दै उनले सामाजिक सद्भाव र पारिवारिक प्रेमको कथालाई पनि फिल्ममा समेटिएको बताए।
शेरबहादुर तामाङको छायांकन रहेको फिल्मको लेखनमा निर्देशक बोहरालाई शिवम अधिकारीले सहयोग गरेका छन्। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्ममा सुरक्षा पन्त, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई (फुलन्देकी आमा), अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी, श्रेया नारायणलगायतको अभिनय छ।
सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह–निर्माता छन्।
फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। ‘चमेलीको पोइ’लाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्दैछ।