काठमाडौं । रे अफ आर्ट प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवार’को प्रदर्शन मिति तय भएको छ। मदन थापाको निर्देशनमा बनेको फिल्म कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्ममा निरज कँडेल डीओपी, विशेष महर्जन र जयन्द्र कुँवर छायाकार तथा एनबी महर्जन एक्सन निर्देशकका रूपमा छन्।
रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माता छन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा फिल्म निर्माण गरिएको हो।
‘परिवार’मा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।
‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने थिममा फिल्म निर्माण गरिएको निर्माणपक्षले जनाएको छ।
फिल्मको पोस्टरमा कामेश्वर चौरासियालाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ भने लक्ष्मी बर्देवालाई पुरुषको भूमिकामा देखाइएको छ। पोस्टरमा कलाकारको फरक अवतारले फिल्मको कथावस्तु र प्रस्तुति रोचक हुने संकेत गरेको छ।