विपीनको इन्ट्रीदेखि एआई कनेक्सनसम्म, आयो ‘कबड्डी ५’को टिजर

0 Shares

काठमाडौं । ‘कबड्डी’को कथा फेरि पर्दामा फर्किएको छ। पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक भएसँगै फिल्मको कथालाई लिएर कौतुहलता बढेको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको टिजरमा यसपटक विजय बरालको पात्र बिकेको एआईसँगको कनेक्सनलाई रोचक रूपमा प्रस्तुत गरिएको छ। दयाहाङ राईको काजी र नयाँ मैया पात्र सिर्जना गुरुङको इन्ट्रीले पनि टिजरमा नयाँपन थपेको छ।

विपीन कार्कीको प्रवेशसँगै टिजरले अर्को मोड लिन्छ। उनको संवाद बोल्ने शैली र चरित्रले दर्शकको ध्यान तान्छ। अन्तिममा रिश्मा गुरुङ देखिएसँगै टिजर टुंगिन्छ।

‘कबड्डी ४’ जहाँ टुंगिएको थियो, त्यहीँबाट नयाँ कथाको सुरुवात गरिएको संकेत टिजरले दिएको छ। निर्देशक गुरुङका अनुसार पाँचौँ भागले अघिल्लो शृङ्खलाका कथालाई नै निरन्तरता दिएको छ।

फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङसहित कलाकारको अभिनय छ। अघिल्लो भागकी मुख्य अभिनेत्री मिरुना मगरको पात्र भने अहिलेसम्म रहस्यमै राखिएको छ। पोस्टरदेखि टिजरसम्म उनको चरित्रलाई नदेखाइएकाले फिल्ममा उनको भूमिका कस्तो हुनेछ भन्ने चासो थपिएको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मको नेपाल वितरण ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क र विदेश वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ।

सम्बन्धित समाचार

सबै