छ दशकको सांगीतिक यात्रा सम्झाउँदै गुञ्जिइन् मीरा राणा

0 Shares

काठमाडौं । छ दशक लामो सांगीतिक यात्राका सम्झना, कालजयी गीत र पुराना सहयात्रीको संगीतसँगै गायिका मीरा राणाको एकल सांगीतिक साँझ आइतबार कमलादीमा गुञ्जिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा खचाखच दर्शकमाझ राणाले आफ्नो सांगीतिक यात्राका विभिन्न चरणलाई गीतमार्फत सम्झिइन्। कहिले नारायणगोपालसँग गाएका गीत, कहिले शम्भुजीत बासकोटा र कुमार बस्नेतसँगका सहकार्य, त कहिले आफ्ना लोकप्रिय एकल सिर्जना—राणाको साँझमा उनका सांगीतिक यात्राका अनेक रंग प्रस्तुत भए।

‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘बैनीको दया छ भने’देखि ‘नाच्देऊ मैच्याङ’, ‘सिन्धुपाल्चोक जिल्लामा’, ‘मादल घनघन घन्काउँ कि’ र ‘लेक फुल्यो लालीगुराँस’सम्मका गीतले पुराना सांगीतिक सम्झना ताजा गराए।

राणाका आफ्नै चर्चित गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायत पनि कार्यक्रममा प्रस्तुत भए।

राणाको यो सांगीतिक साँझ केवल गीत–संगीतमा सीमित रहेन। क्यान्सरबाट निको भएकी र क्यान्सरकै कारण पति गुमाएकी राणाले स्थापना गरेको मीरा राणा क्यान्सर समाजमार्फत क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यसमेत कार्यक्रमसँग जोडिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। मीरा राणाको सांगीतिक योगदानको सम्मानमा उनलाई ५० हजार रुपैयाँसहित सम्मानसमेत गरिएको थियो। यसरी एकल साँझले राणाको लामो सांगीतिक यात्रालाई सम्झनासँगै सामाजिक अभियानलाई पनि जोडेको छ।

सम्बन्धित समाचार

सबै