डेनमार्कदेखि क्रोएसियासम्म, पहिलो युरोप टुरमा मंगोलियन हार्ट

0 Shares

काठमाडौं । तीन दशकभन्दा लामो सांगीतिक यात्रामा नेपाल र नेपाली डायस्पोरामाझ लोकप्रिय बनेको मंगोलियन हार्ट अब पहिलोपटक युरोपका दर्शकमाझ पुग्ने भएको छ।

‘मंगोलियन हार्ट युरोप मिनी टुर २०२६’का लागि ब्यान्डको आठ सदस्यीय टोली सेप्टेम्बर २४ मा नेपालबाट प्रस्थान गर्ने तयारीमा छ। गायक राजु लामाको नेतृत्वमा ब्यान्डले डेनमार्क, रोमानिया, पोर्चुगल र क्रोएसियामा लाइभ प्रस्तुति दिनेछ।

यात्राको सुरुवात सेप्टेम्बर २६ मा डेनमार्कबाट हुनेछ। त्यसपछि अक्टोबर ३ मा रोमानिया, अक्टोबर ५ मा पोर्चुगल र अक्टोबर ११ मा क्रोएसियामा ब्यान्ड प्रस्तुत हुनेछ। डेनमार्कको कार्यक्रमलाई आयोजकले मंगोलियन हार्टको पहिलो युरोप टुरको हिस्सा भनेको छ।

राजु लामा, बोबी लामा, सन्तोष थापा मगर, पवन कपाली, भूपेन्द्र बज्राचार्य, बाबुराजा महर्जन, विनय महर्जन र निरेन्द्र रञ्जित सहभागी हुने यो भ्रमण केवल सांगीतिक प्रस्तुतिमा सीमित रहने छैन।

रसुवा बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यसमेत टुरसँग जोडिएको छ। गायक राजु लामाले युरोप यात्राबाट प्राप्त हुने रकमको केही हिस्सा राहत तथा सहयोगमा प्रयोग गर्ने बताएका छन्।

ब्यान्ड म्यानेजर बोबी लामाले युरोपमा रहेका नेपाली तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। ‘भेटौँ, गाऔँ, नाचौँ र मंगोलियन हार्टसँगै नेपाली संगीतको उत्सव मनाऔँ’ भन्ने उनको आग्रह छ।

सन् १९९२ मा स्थापना भएको ब्यान्डले पछिल्ला वर्षहरूमा नेपालबाहिर पनि विभिन्न देशमा प्रस्तुति दिँदै आएको छ। पोर्चुगलको कार्यक्रमसमेत आधिकारिक रूपमा अक्टोबर ५ का लागि सूचीबद्ध छ।

सम्बन्धित समाचार

सबै