काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङ पहिलोपटक जोडीका रूपमा फिल्ममा देखिने भएका छन्। निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ फिल्ममा पल र जसितालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हो।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मका लागि जसितासँग सोमबार सम्झौता गरिएको हो। यस्तै, फिल्म निर्देशनका लागि दिपेन्द्र लामासँग पनि सोही दिन सम्झौता गरिएको निर्माण कम्पनीले जनाएको छ। पल शाहसँग भने यसअघि नै मौखिक सहमति भइसकेको निर्माता अधिकारीले बताएका छन्।
फिल्मको नाम अहिलेसम्म तय गरिएको छैन। निर्माण पक्ष अहिले कलाकार तथा प्राविधिक टिम छनोटको काममा व्यस्त छ। बाँकी कलाकारलाई अनुबन्ध गरेपछि फिल्म छायांकनमा जाने तयारी गरिएको छ।
पल र जसिताको जोडी पहिलोपटक पर्दामा देखिन लागेकाले फिल्मको कास्टिङलाई चासोका साथ हेरिएको छ। फिल्मको निर्देशन दिपेन्द्र लामाले गर्नेछन् भने रोहित अधिकारी निर्माता रहनेछन्।
फिल्मका अन्य कलाकार, प्राविधिक टिम, शीर्षक र छायांकन तालिकासहितका विवरण निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।
रोहित अधिकारी फिल्म्सले यसअघि नै अनमोल केसीसँग ‘फर्की फर्की’को सिक्वेल निर्माण गर्ने घोषणा गरिसकेको छ। उक्त प्रोजेक्टका लागि अनमोलसँग सम्झौतासमेत भइसकेको निर्माण पक्षले जनाएको छ।
यससँगै रोहित अधिकारी फिल्म्सले पल–जसिता स्टारर नयाँ फिल्म र अनमोल केसी स्टारर सिक्वेलसहित विभिन्न प्रोजेक्टलाई एकसाथ अघि बढाउने भएको छ।