‘साम्राज्य’मा सुशील श्रेष्ठ पनि जोडिए

0 Shares

काठमाडौं । ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन्। सुशीलको प्रवेशसँगै फिल्मको मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौधरीले बताएका छन्।

यसअघि फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन्। अब मंगलबारदेखि विराटनगरबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माण पक्षको छ।

निर्देशक चौधरीका अनुसार फिल्मको छायांकन ७० दिनमा सक्ने लक्ष्य राखिएको छ। दसैंका लागि भने करिब एक साता छायांकन रोकिनेछ। फिल्मको सम्पूर्ण छायांकन कोशी प्रदेशका विभिन्न स्थानमा गरिनेछ।

चर्चित उपन्यास ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरले लेखेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माता रहेका छन्। विश्वास बस्नेत सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ।

फिल्मलाई आगामी वर्षको दसैंको छेकोमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

निर्देशक चौधरीले ‘द राइज अफ साम्राज्य’लाई आफ्नो अहिलेसम्मकै ठूलो स्केलको एक्सन ड्रामा भएको बताएका छन्। कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको उनको भनाइ छ। फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको छ।

‘अगस्त्य’मार्फत एक्सन जनरामा सम्भावना देखाएका चौधरीले ‘द राइज अफ साम्राज्य’लाई आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रूपमा अघि बढाएका छन्।

सम्बन्धित समाचार

सबै