‘जदौ’को एक्सटेन्डेड ट्रेलरका संवादले किन पाइरहेछ चर्चा?

0 Shares

काठमाडौं, ७ असोज । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जदौ’को सोमबार सार्वजनिक एक्सटेन्डेड ट्रेलरले दर्शकको ध्यान तानेको छ। अन्तरजातीय प्रेमसम्बन्धले परिवार र समाजमा पार्ने प्रभाव, प्रेम प्राप्तिका लागि पात्रहरूले गर्ने संघर्ष तथा त्यसबाट उत्पन्न द्वन्द्वलाई प्रस्तुत गरिएको करिब साढे दुई मिनेट लामो ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

यही शुक्रबार अर्थात् ९ असोजदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘जदौ’लाई अन्जन शर्मा र काजी लिम्बूले निर्देशन गरेका हुन्। मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने, खड्गबहादुर पुनलगायत कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा समावेश संवाद अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्।

ड्रेस सिलाउन आएकी नीतिलाई मुकुनले ‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप… यहाँको नि?’ भनेर सोध्दा नीतिले दिएको ‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र..?’ भन्ने जवाफले फिल्मको मूल विषयवस्तुको झल्को दिन्छ।

त्यस्तै, प्रभात पलले नीतिलाई ‘म बिना एक्लै बाँच्न सक्छौ?’ भनेर सोधेको दृश्यपछि आमाछोरा तथा परिवारबीच नीतिले पोखेको पीडा—‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे..’—ले अन्तरजातीय प्रेममा आइपर्ने सामाजिक अवरोधलाई प्रस्तुत गर्छ।

प्रभातले आक्रोश र पीडामा बोलेको ‘हो हो हो, म दमई हो..’ भन्ने संवादले पनि नेपाली समाजमा अझै विद्यमान जातीय विभेदको विषयलाई उठाएको छ। यिनै संवादले ‘जदौ’को विषयवस्तुको गहिराइप्रति दर्शकको चासो बढाएको देखिन्छ।

लेखकसमेत रहेका निर्देशक काजी लिम्बू नेपाली फिल्म मनोरञ्जनमा मात्र सीमित नभई समाजलाई सकारात्मक सन्देश दिने माध्यम बन्नुपर्छ भन्ने मान्यता राख्छन्। उनले आफूले नेपाली समाजमा देखेको र भोगेको जातीय विभेद तथा कुरीतिविरुद्ध फिल्ममार्फत आवाज उठाउन खोजेको बताएका छन्।

अर्का निर्देशक अन्जन शर्माले ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्ने फिल्म बनेको बताउँदै आएका छन्।

फिल्मको शीर्ष गीत ‘जदौ हजुर’पछि ‘तिमीसँग नबोली’ रोमान्टिक गीत पनि चर्चामा रहेका बेला प्रिति कौरले लेखेको ट्रेलरमा समावेश ‘रागले पोल्यो जातको, चलेन पानी यी हातको..’ बोलको गीतले समेत दर्शकको ध्यान तानेको छ। दर्शकले उक्त गीत पूरा सुन्न चाहेको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन्।

प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्र बनाएको ‘जदौ’ले फरक विषयवस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन्। राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमीत्रा देवकोटा सहनिर्माता तथा बिमला भण्डारी कन्सेप्ट डिजाइनर हुन्। फिल्मलाई एनसिजीएनले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै