काठमाडौं । भुवन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बाटुलो जून’ अब तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै कात्तिक २६ गतेलाई प्रदर्शन मिति तय गरेको हो।
फिल्म यसअघि दसैंमा रिलिज गर्ने तयारीमा थियो। तर, दसैंमा धेरै फिल्म एकसाथ प्रदर्शनमा आउने भएपछि हलमा शो तथा पर्दा व्यवस्थापनमा समस्या हुन सक्ने देखिएपछि वितरक र प्रदर्शकको सुझावअनुसार ‘बाटुलो जून’को रिलिज तिहारका लागि सारिएको हो।
निर्देशक भुवन केसीले नयाँ मिति घोषणा गर्दै नेपाली फिल्म उद्योगमा फिल्महरू एकअर्कासँग भिड्नुभन्दा मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। उनका अनुसार दसैंमा चार फिल्म प्रदर्शनमा आउने तय हुनुका साथै अर्को फिल्म पनि थपिएपछि प्रदर्शन व्यवस्थापनलाई ध्यानमा राख्दै नयाँ मिति रोजिएको हो।
फिल्मको नयाँ पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। पोस्टरमा अनमोलको लुक्सले ५० को दशकको समयलाई सम्झाउने शैली देखाउँछ। बलिरहेको लाल्टिन र उज्यालो जूनसहितको ग्रामीण परिवेशले फिल्मको कथाको पृष्ठभूमिबारे संकेत गर्छ।
पोस्टरको प्रस्तुतिले ‘बाटुलो जून’ ग्रामीण परिवेशमा आधारित प्रेमकथा भएको देखाएको छ।
सानराइज पिम्चर्सको ब्यानरमा बनेको फिल्ममा जीया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह–निर्माता छन्। सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले फिल्मको लेखन गरेका हुन्।
फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा र भुवन केसीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय रहेको छ।
