असोज २३ मा रिलिज हुने ‘टनेल २६’ ट्रेलर सार्वजनिक, दर्शकलाई फरक स्वाद

0 Shares

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा बनेको डिजास्टर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

निर्माण पक्षका अनुसार फिल्म असोज २३ अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट १६ सदस्यीय टोली नेपाल आएको थियो।

फिल्मको कथा भुटानको एक जलविद्युत् सुरुङमा हुने दुर्घटना र त्यसपछि सिर्जना हुने संकट वरिपरि केन्द्रित छ। निर्माण पक्षका अनुसार फिल्म भुटानमा भएका वास्तविक घटनाबाट प्रेरित छ। कथालाई विश्वसनीय बनाउन वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्य छायांकन गरिएको छ।

करिब १०० दिनसम्म गरिएको छायांकन, विस्तृत सेट र भीएफएक्सको प्रयोगले फिल्मलाई ठूलो स्केलमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ। ट्रेलरमा दुर्घटना, उद्धार तथा त्यसपछिको संकटलाई मुख्य रूपमा देखाइएको छ।

डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकार छन्।

‘टनेल २६’मा नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। उनले फिल्ममा कलाकारका रूपमा अभिनय भने गरेका छैनन्। दोर्जी वाङ्चुक कार्यकारी निर्माता हुन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता निर्वाण चौधरीले नेपाल र भुटानको टिमसँग सहकार्य गरेर फिल्म निर्माण गर्न पाउँदा उत्साहित रहेको बताए। उनले बुबा बिनोद चौधरीले चार दशकअघि फिल्म निर्माण गरेको स्मरण गर्दै आफू पनि यस क्षेत्रमा निरन्तर अघि बढ्ने बताए।

प्रदीप खड्काले फिल्मको रचनात्मक तथा कलात्मक पक्षमा योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे। सङ्गे छेल्ट्रिमले फिल्मलाई ठूलो स्तरमा निर्माण गरिएको बताउँदै दर्शकलाई फिल्म हेर्न आग्रह गरे।

छेल्ट्रिमले नेपालमा हालै आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आफ्नो सेयरबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत, अर्थात् फिल्मको कुल आम्दानीको २५ प्रतिशत बराबर रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा पनि गरेका छन्।

सङ्गे फिल्म्स र पिक एक्सभीको प्रस्तुति रहेको फिल्ममा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स, DoMCIIP र रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ।

दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङको छायांकन रहेको फिल्ममा राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर तथा पेमा लामो निर्माण व्यवस्थापक छन्। थाइल्यान्डमा संगीत तथा ध्वनि सम्बन्धी काम गरिएको फिल्मको दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो।

असोज २३ गते नेपाल र भुटानमा प्रदर्शनपछि फिल्मलाई एसिया तथा उत्तर अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी गरिएको छ।

सम्बन्धित समाचार

सबै