सामाजिक विषयवस्तुमा बन्न लागेको नेपाली फिल्म ‘२६ करोड’को मुम्बईमा औपचारिक घोषणा गरिएको छ। बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा मंगलबार साँझ ताज ल्याण्ड्स एन्डमा आयोजित कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो।
फिल्ममा साहारा आर शाह मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। निर्माता सुवास भुसाल र शाहबीच कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यसअघि नै अभिनेता प्रदीप खड्का फिल्मको मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। अब प्रदीपको जोडीका रूपमा शाहले नेपाली फिल्ममा डेब्यु गर्नेछिन्।
अनुपम खेरको एक्टर्स प्रिपेयर्स एक्टिङ एकेडेमीबाट अभिनय प्रशिक्षण लिएकी शाहलाई निर्देशक विकास सुवेदीले अडिसनमार्फत छनोट गरेका हुन्। निर्देशकका अनुसार कथाको आवश्यकताअनुसार हिन्दी लवज भएको पात्र चाहिएकाले शाहलाई रोजिएको हो।
शाहको फिल्मी यात्रा विवेक ओबेरोयका लागि पनि विशेष बनेको छ। ओबेरोयले लामो समयदेखि शाहको अभिभावकत्वमा सहयोग गर्दै आएका छन्। तीन वर्षको उमेरदेखि क्यान्सरसँग संघर्ष गरेकी शाहले रोगलाई जितेपछि CPAA मार्फत ओबेरोयबाट स्वास्थ्योपचार, शिक्षा र संरक्षणसम्बन्धी सहयोग पाउँदै आएकी छन्।
कार्यक्रममा ओबेरोयले शाहको बाल्यकालको संघर्ष स्मरण गर्दै उनलाई अहिले फिल्मको मुख्य अभिनेत्रीका रूपमा सम्झौता गरिरहेको देख्दा भावुक भएको बताए। उनले शाहको फिल्मी करियर सफल रहोस् भन्दै शुभकामना पनि दिए।
शाहले फिल्ममा जोडिनुअघि ओबेरोय र ‘तारे जमिन पर’का लेखक अमोल गुप्तेसँग आशीर्वाद लिएकी थिइन्।
‘२६ करोड’को लेखन तथा निर्देशन विकास सुवेदीले गर्नेछन्। किङडम नेटवर्कको ब्यानरमा बन्ने फिल्मको निर्माण सुवास भुसालले गर्नेछन्।
निर्माता भुसालका अनुसार फिल्मको छायांकन नोभेम्बर–डिसेम्बरमा सुरु हुनेछ। काठमाडौं र जुम्लासँगै भारतको मुम्बई तथा केदारनाथका विभिन्न स्थानमा फिल्म खिचिनेछ।
कर्णाली फिल्म फेस्टिभलका क्रममा फिल्मको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो। फेस्टिभल निर्देशक चक्रबहादुर चन्दको संयोजनमा मुम्बईमा फिल्म निर्माण घोषणा गरिएको हो।