काठमाडौं । निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ले सेन्सर पास गरेसँगै प्रदर्शनका लागि सर्वाधिक शो पाएको छ । असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ बिहीबार बिहानबाट खुला गरिएको हो ।
सेन्सर प्रक्रिया ढिला भएपछि ‘आचार्य’को बुकिङ खोल्ने समय केही पछाडि सरेको थियो । यसअघि मंगलबारदेखि बुकिङ खुलाउने तयारी थियो । तर, बुधबार राति सेन्सर पास भएपछि बिहीबार बिहान हलहरूले फिल्मका शो सार्वजनिक गरेका हुन् ।
शुक्रबार नेपालमा नेपाली र विदेशी गरी १२ फिल्म प्रदर्शनमा रहनेछन् । उपलब्ध कुल शोमध्ये ५० प्रतिशतभन्दा बढी शो ‘आचार्य’का लागि छुट्याइएको बताइएको छ । यससँगै फिल्मले शुक्रबारको प्रदर्शनमा अन्य फिल्मको तुलनामा ठूलो शो हिस्सा पाएको छ ।
ट्रेलर सार्वजनिक भएदेखि नै ‘आचार्य’ दर्शकमाझ चर्चामा छ । ट्रेलर नेपालमा ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुगेको थियो । विशेषगरी निखिल उप्रेतीको एक्सन अवतार, फिल्मको प्रस्तुति र प्राविधिक पक्षलाई लिएर सामाजिक सञ्जालमा दर्शकको चासो देखिएको छ ।
सर्वाधिक शो र बुकिङ खुला भएसँगै अब ‘आचार्य’को पहिलो दिनको प्रदर्शनप्रति फिल्म क्षेत्र र दर्शकको चासो बढेको छ ।
निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मको निर्देशन पनि उप्रेतीकै हो । फिल्म नेपाल तथा विदेशका हलमा असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।