‘आचार्य’मा नेपाली कथा, अन्तर्राष्ट्रिय प्रस्तुति : निखिल

0 Shares

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन ‘आचार्य’मा प्रविधि र प्रस्तुतिलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।

उनले विदेशी फिल्मको प्रदर्शन रोक्नुभन्दा नेपाली फिल्मलाई त्यही स्तरको प्रविधि, प्रस्तुति र विषयवस्तुमा बलियो बनाउनुपर्ने बताए । दर्शकलाई विदेशी फिल्म हेर्नबाट रोक्न नसकिने भन्दै उनले नेपाली फिल्मले दर्शकलाई आफ्नै फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरको अनुभव दिन सक्नुपर्ने धारणा राखे ।

“कथा हाम्रो हो, कथावस्तु यहीँबाट सुरु हुन्छ । तर यसको प्रस्तुति फरक हो,” निखिलले भने ।

उनका अनुसार ‘आचार्य’मा एनामर्फिक लेन्स, क्यामेरा वर्क, स्टन्ट, ब्लकिङ, ब्याकग्राउन्ड म्युजिक, साउन्ड इफेक्ट, एसएफएक्स र ग्राफिक्समा विशेष काम गरिएको छ । फिल्मको बीजीएम तथा एसएफएक्सलगायत केही प्राविधिक काम भारतमा गरिएको उनले बताए ।

नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा नेपाली तथा भारतीय कलाकार छन् । भारतीय कलाकारलाई भारतीय बजारका लागि मात्र नभई कथाको आवश्यकता हेरेर छनोट गरिएको निखिलले बताए ।

फिल्म निर्माणका क्रममा नेपालमा एक्सन छायांकनका लागि सुरक्षा र अनुमति प्रक्रियालाई प्रमुख चुनौतीका रूपमा अनुभव गरेको उनले बताए । आफूले वास्तविक स्टन्ट गर्ने भएकाले सुरक्षा पूर्वाधारको अभावमा जोखिम बढ्ने उनको भनाइ छ ।

सार्वजनिक स्थानमा छायांकन अनुमति लिन कठिनाइ हुँदा केही दृश्य भारतमा खिच्नुपरेको उनले बताए । फिल्म उद्योगलाई अन्य उद्योगसरह आवश्यक सहजीकरण, सुरक्षा र पूर्वाधार उपलब्ध गराउनुपर्ने उनको धारणा छ ।

‘आचार्य’ बनाउने सोच आफूले करिब दुई दशकअघि नै बनाएको निखिलले बताए । ‘सावधान’ निर्देशन गर्दादेखि नै प्राविधिक रूपमा फरक फिल्म बनाउने सोच रहेको र त्यतिबेला डिजिटल प्रविधि तथा भिजुअल इफेक्ट्समा काम गर्न विदेशसम्म जानुपरेको उनले स्मरण गरे ।

‘आचार्य’ निर्माणमा करिब तीनदेखि चार करोड रुपैयाँ खर्च भएको उनले बताएका छन् । निर्माता कृष्ण भट्टराईले आफूलाई विश्वास गरेर लगानी गरेको भन्दै उनले धन्यवाद दिए ।

ट्रेलर सार्वजनिक भएपछि भारतमा समेत फिल्मप्रति चासो देखिएको निखिलको दाबी छ । उनका अनुसार भारतीय तथा दक्षिण भारतीय डिस्ट्रिब्युटरहरूले सम्पर्क गर्नुका साथै केहीले फिल्मको प्रिभ्यु हेर्न प्रस्ताव गरेका छन् ।

नेपाली बजारसँगै नयाँ बजार र वितरणका सम्भावना खोज्ने अवसर ‘आचार्य’ले दिन सक्ने निखिलको विश्वास छ । तर त्यसका लागि फिल्मले निश्चित स्तर कायम गर्नुपर्ने उनले बताए ।

निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको ‘आचार्य’ असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा पूर्णिका सिजापति, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

सबै