कौडा शैलीको ‘जाले रुमाल मायालाई’मा उपासना र सोनम

0 Shares

काठमाडौँ । अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीमा तयार पारिएको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर छ।

सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ (किज) हुन्। गीतको भिडियोमा उपासना सिंह ठकुरी र सोनम तोप्देनलाई फिचर्ड गरिएको छ।

भिडियोमा रत्न बीकेको बाँसुरी, मदन रेग्मीको मादल तथा खैंजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारंगीको प्रस्तुति समेटिएको छ। सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले भिडियोको कोरियोग्राफी गरेका छन्।

गीतमा फिल्मका अन्य कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर र प्रवेश राईलाई पनि प्रस्तुत गरिएको छ।

‘जलाकी’को यसअघि ‘चाँदी चलप’ बोलको गीत सार्वजनिक भएको थियो। उक्त गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेपछि निर्माण टिमले दोस्रो गीतले पनि दर्शकको माया पाउने अपेक्षा गरेको छ।

फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगरलगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।

मिस सिक्किम साहारा हाङमा लिम्बूले यही फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शैलेन्द्र डी. कार्कीले गरेका हुन्। ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी निर्माता रहेको फिल्म मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

‘खुस्मा’पछि निर्देशक अशोक थापा मगरले ‘जलाकी’मार्फत दर्शकमाझ नयाँ प्रस्तुति ल्याएका छन्। फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछन्।

सम्बन्धित समाचार

सबै