काठमाडौं । पोस्टरबाटै दर्शकको ध्यान खिचेको फिल्म ‘परिवार’को टिजर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई महिला र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको थियो।
मदन थापाको निर्देशनमा बनेको फिल्मको टिजरले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र पारिवारिक खटपटलाई केन्द्रमा राखेको देखिन्छ। टिजरको सुरुवातमै कामेश्वर र लक्ष्मीबीचको विवाद देखाइएको छ।
लक्ष्मीले परिवारको वास्ता नगरी कामेश्वरकै विश्वासमा आफू भागेर आएको बताउँदा कामेश्वरले उनको ‘लग्जरियस लाइफ’ चाहना र पीआरवालासँग जानुपर्ने विषय उठाएका छन्। संवादबाट उनीहरूले परिवारको स्वीकृतिबिना विवाह गरेको संकेत हुन्छ।
फिल्ममा छोरीको भूमिकामा रहेकी पात्रले भने बाबुआमा कहिल्यै झगडा नगर्ने वातावरण बनाइदिन भगवानसँग प्रार्थना गरेकी छन्। त्यसपछि कामेश्वर र लक्ष्मी सुतेर उठ्दा आफ्नै शरीर छाम्दै आश्चर्यमा परेको दृश्य आउँछ। यही दृश्यले फिल्मको कथामा शरीर परिवर्तनको प्रसंग रहेको संकेत गर्छ।
तर उनीहरूबीच यस्तो परिवर्तन किन हुन्छ भन्ने कुरा भने फिल्म रिलिजपछि मात्रै खुल्नेछ। ‘परिवार’ कार्तिक १३ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
रे अफ आर्ट प्रालिको ब्यानरमा बनेको फिल्म शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण भएको हो। फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकार छन्।
प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्मको डीओपी निरज कँडेल हुन्। विशेष महर्जन र जयन्द्र कुँवरले छायांकन गरेका छन् भने एक्सन निर्देशन एनबी महर्जनको रहेको छ।
रमेश शाही निर्माता, कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माता रहेको फिल्मको टिजर म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।