काठमाडौँ। रेखा थापा र सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’ मंसिर १७ गतेदेखि हलमा आउने भएको छ। सोमबार अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मले प्रदर्शन मिति तय गरेसँगै प्रचारप्रसारलाई अघि बढाउने भएको छ। निर्माण पक्षका अनुसार घटस्थापनाका दिन फिल्मको पहिलो गीत सार्वजनिक हुनेछ।
सबिर श्रेष्ठ निर्देशित फिल्ममा दुई महिला पात्रबीचको द्वन्द्वलाई कथाको मुख्य आधार बनाइएको छ। रेखा थापा र पूजा शर्मा फरक भूमिकामा प्रस्तुत छन्। सार्वजनिक पोस्टरमा रेखा प्रहरी अधिकारीको भूमिकामा देखिएकी छन् भने पूजालाई उनले हत्कडी लगाएर नियन्त्रणमा लिएको दृश्य राखिएको छ।
फिल्ममा रेखासँग महेश त्रिपाठी र पूजासँग पुष्प खड्का जोडीका रूपमा देखिनेछन्। पुष्प र पूजा पहिलो पटक जोडीका रूपमा पर्दामा देखिन लागेका हुन्। फिल्ममा निरुता सिंहसहित अन्य कलाकारको पनि अभिनय रहेको छ।
रेखा र निरुताले ‘दुई पल’पछि लामो समयपछि ‘छत्तीसको आँकडा’मा पुनः सहकार्य गरेका हुन्। निर्देशक श्रेष्ठ र रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’ र ‘कसले चोर्यो मेरो मन’ लगायत फिल्ममा सहकार्य गरिसकेका छन्। यस्तै, रेखा र पूजाले ‘उपहार’पछि पुनः सहकार्य गर्न लागेका हुन्।
फिल्मको नेपाल वितरण आरआर फिल्म्सले गर्नेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनीले वितरणको जिम्मेवारी लिएको हो।