काठमाडौँ। सजन काफ्ले र आकास बरालको निर्देशनमा बनेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ माघ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म जनवरी २९, २०२७ देखि नेपालभरका हलमा प्रदर्शन हुने भएको हो।
प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा विजय बराललाई ‘पुन्य चौलागाईँ’को भूमिकामा फरक लुक्समा देखाइएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामा सवार विजयको अगाडि तथा पछाडि पंखा बोकेर हिँडिरहेका मानिसको दृश्यले पोस्टरलाई रोचक बनाएको छ।
फिल्मको कथामा सडक सुविधा नपुगेको विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नआएसम्म शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ लिएर गाउँ पुग्ने क्रममा सिर्जना हुने परिस्थितिलाई हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।
यसअघि फिल्मको पहिलो पोस्टरमा गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेको दृश्य सार्वजनिक गरिएको थियो।
‘बेहुली फ्रम मेघौली’पछि सजन काफ्ले र आकास बरालको यो दोस्रो निर्देशकीय सहकार्य हो। फिल्मको कथा तथा पटकथा पनि उनीहरूकै हो।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरमा छायाङ्कन गरिएको फिल्ममा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायत कलाकार छन्।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्ममा निशाल पौडेलको छायाङ्कन, चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीको संगीत रहेको छ।
फिल्मको वितरण उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र काठमाडौँ उपत्यकामा डीसीएनले गर्नेछ।