‘आ बाट आमा २’को ‘अचेल किन कान्छी’ गीत सार्वजनिक

0 Shares

काठमाडौँ । असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै गीतको भिडियो सार्वजनिक गरेको हो।

डान्सिङ शैलीको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठलगायत कलाकार सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा तयार गरिएको भिडियोमा दुलाहाहरूले समेत छमछमी नृत्य गरेका छन्। गीतको भिडियोको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन्।

उक्त गीतको भिडियो एक दिनअघि मात्र छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। सामूहिक स्वरमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।

पल शाह र मलिका महतले पहिलोपटक फिल्ममा सहकार्य गरेका हुन्।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह फिल्मका प्रोडक्सन एक्जिक्युटिभ हुन्।

नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै