‘बाः एक योद्धा’ हेर्न हलमा बढ्यो भीड, हलहरुले थपे शो

0 Shares

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको साथ पाउन थालेको छ। प्रदर्शनका सुरुवाती तीन दिन लगातार वर्षा हुँदा अपेक्षाकृत कम दर्शक पाएको फिल्ममा मंगलबारदेखि भने दर्शकको चाप बढेको निर्माण तथा वितरण पक्षले जनाएको छ।

मंगलबारदेखि सुरु भएको ‘डिल डे’अन्तर्गत ५० प्रतिशत छुटको प्रभावसँगै फिल्मका अधिकांश शोमा दर्शकको उपस्थिति बढेको वितरकको भनाइ छ। मंगलबार देशभर ७९ शोमा प्रदर्शन भएको फिल्मका थुप्रै शो दिनभर हाउसफुल भएका थिए।

बुधबार फिल्मको शो संख्या थप बढाइएको छ। वितरकका अनुसार देशभर फिल्मले १०० भन्दा बढी शो पाएको छ। दर्शकको माग बढेसँगै विभिन्न हलले थप शो थपिरहेका छन्। काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म फिल्मप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ।

फिल्मप्रति दर्शकबाट प्राप्त प्रतिक्रियामा भने भावनात्मक पक्ष प्रमुख देखिएको छ। फिल्म हेरेका दर्शकले आफूहरू भावुक भएको, कतिपय दृश्यले रुवाएको तथा कथा आफ्नै परिवार, आफन्त वा छिमेकीको जीवनसँग जोडिएको महसुस भएको प्रतिक्रिया दिएका छन्।

विशेषगरी बाबुआमाले सन्तानका लागि गर्ने त्याग र संघर्षको प्रस्तुतिलाई दर्शकले मन पराएका छन्। कतिपय दर्शकले फिल्म हेरेपछि आफ्ना बाबुआमालाई सम्झिएको तथा आफ्ना सन्तानलाई समेत फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएका छन्।

सन्तानले आफ्ना अधिकारका विषयमा आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश फिल्मले दिएको दर्शकको भनाइ छ। वृद्ध अवस्थामा पुगेका आमाबाबुले सन्तानबाट भोग्नुपर्ने पीडा र उनीहरूले जीवनभर गरेको त्यागलाई फिल्मले भावनात्मक रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दर्शकबाट आएको छ।

प्रदर्शनको सुरुवातदेखि नै विभिन्न हलमा दर्शकसँग भेटघाट गर्दै आएको फिल्मको कलाकार टोलीले मंगलबार बढेको दर्शकको चापले आफूहरूलाई थप उत्साहित बनाएको बताएको छ। कलाकारहरूले हलमै पुगेर दर्शकसँग फिल्मबारे प्रतिक्रिया लिइरहेका छन्।

फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो।

वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

सम्बन्धित समाचार

सबै