बेलायतमा अक्टोबर ९ मा ‘सुम्निमा साँझ’

0 Shares

काठमाडौं । नेपाली संगीतका चर्चित कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै बेलायतमा ‘सुम्निमा साँझ’ आयोजना हुने भएको छ। अक्टोबर ९ मा एल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा मेलिना राई र रोशन राईसहितका कलाकारले प्रस्तुति दिनेछन्।

सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा प्रताप दास, पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे र अभिनेत्री रजनी गुरुङलगायतको पनि प्रस्तुति रहनेछ।

कार्यक्रममा मेलिना र रोशनको प्रस्तुति विशेष चासोको विषय बन्ने देखिएको छ। ‘द भ्वाइस अफ नेपाल’मा मेलिना कोचको भूमिकामा रहेकी थिइन् भने रोशन सोही सिजनका उपविजेता हुन्। उनीहरूलाई एउटै सांगीतिक मञ्चमा प्रस्तुत गराउन लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम सुशील नेपालले सञ्चालन गर्नेछन्। कलाकारहरूको नेपालतर्फको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि आयोजनामा जोडिएका छन्।

‘सुम्निमा साँझ’ केवल सांगीतिक कार्यक्रममा सीमित नरहने आयोजकको भनाइ छ। कार्यक्रमबाट उठेको रकमको ५ प्रतिशत भोटेकोशी र रसुवाका बाढीपीडित परिवारलाई सहयोग गरिनेछ।

बेलायतमा नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले त्यहाँ रहेका नेपाली दर्शक तथा श्रोताका लागि नेपाली सांगीतिक वातावरण सिर्जना गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सबै