काठमाडौं । प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको संयुक्त सांगीतिक प्रस्तुति सहित ‘सुरताल म्युजिकल टुर २०८३’ तेह्रथुमबाट सुरु भएको छ ।
तेह्रथुमको म्याग्लुङमा आयोजित पहिलो कन्सर्टमा तीनै कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गरे । प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्याण्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डको लाइभ प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिए । आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए ।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको यो सांगीतिक टुर सातै प्रदेशका १३ शहरमा आयोजना हुँदैछ । टुरमा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुसहितको टोलीले लाइभ प्रस्तुति दिनेछ ।
तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ । त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुनेछ ।
नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका शहरमा पनि कन्सर्ट आयोजना हुने आयोजकले जनाएको छ ।
स्थानीय आयोजक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन भइरहेको टुरमा तीनै कलाकारलाई एउटै यात्रामा सहभागी गराएर सातै प्रदेशका विभिन्न शहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ ।