काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको फिल्मले प्रदर्शनको सात दिनमा १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
फिल्मलाई सात दिनमा ४० हजार ८२३ दर्शकले हेरेका छन् । प्रदर्शनको सुरुवाती दिनको तुलनामा पछिल्ला दिनमा दर्शकको फ्लो बढ्दै गएको र हलमा शो पनि विस्तार हुँदै गएको निर्माण पक्षको दाबी छ ।
फिल्मका अभिनेता दिव्यदेवले ‘बाः एक योद्धा’को व्यापारलाई इभी गाडीसँग तुलना गरेका छन् । पेट्रोल वा डिजेल गाडीले जस्तो सुरुमै तीव्र गति नलिएर फिल्मले विस्तारै गति समातेको उनको भनाइ छ ।
निर्देशक हरि लम्सालका अनुसार फिल्मको व्यापार हरेक दिन बढिरहेको छ । दर्शकले फिल्म हेरेपछि परिवारका अन्य सदस्यलाई समेत सिफारिस गरिरहेको उनले बताए । राम्रो ‘वर्ड अफ माउथ’का कारण दोस्रो सातामा दर्शकको संख्या थप बढ्ने अपेक्षा निर्माण पक्षको छ ।
वितरकका अनुसार फिल्मले देशभर एक सयभन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि केही हलले शो संख्या थपिरहेका छन् ।
‘बाः एक योद्धा’ले सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले भोग्ने उपेक्षा र दुःखसम्मका विषय फिल्ममा प्रस्तुत गरिएको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ ।
वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् ।