९२ शोसहित चौथो हप्तामा ‘पेन्सन पट्टा’, कलेक्सन ८.५ करोड

0 Shares

काठमाडौं । माओत्से गुरुङ निर्देशित तथा अभिनीत फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको चौथो हप्तामा पनि आफ्नो शो संख्या मजबुत राखेको छ।

शुक्रबारदेखि चौथो हप्तामा प्रवेश गरेको फिल्मले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। चौथो हप्ताको पहिलो दिनमै फिल्मले खल्ती एपमा ९२ शो पाएको छ।

निर्माण पक्षका अनुसार नयाँ फिल्महरू प्रदर्शनमा आइरहे पनि ‘पेन्सन पट्टा’ले दर्शकको साथ र शोमा निरन्तरता कायम राखेको छ। चौथो हप्तामा पुगेको फिल्मले नयाँ रिलिज भएका फिल्मको तुलनामा करिब तीन गुणा बढी शो पाउनु उपलब्धि भएको उसको दाबी छ।

फिल्मको चौथो हप्ताको अवसरमा काठमाडौंको मण्डला थिएटरमा ‘मीट एन्ड ग्रीट’ तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टिमले फिल्मको सफलता, दर्शकको प्रतिक्रिया र निर्माणका अनुभव सञ्चारकर्मीसँग साझा गरेका थिए।

कार्यक्रममा निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङले दर्शकले दिएको साथप्रति खुसी व्यक्त गरे।

‘दुःख र मेहनत गरेर बनाएको फिल्म चल्दो रहेछ, दर्शकले हेर्दा रहेछन् भन्ने कुरा ‘पेन्सन पट्टा’ले प्रमाणित गरेको छ,’ उनले भने।

यस्तै, अभिनेता दयाहाङ राईले फिल्मको सफलतामा कलाकारको स्टारडमभन्दा कथा महत्वपूर्ण हुने धारणा राखे।

‘कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि फिल्म चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,’ उनले भने।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले पहिलो, दोस्रो र तेस्रो सातामा पनि दर्शकको साथ पाएको निर्माण पक्षको भनाइ छ।

चौथो हप्ताको पहिलो दिनमै ९२ शो पाउनु र ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक हुनु फिल्मको प्रदर्शन यात्रा अझै जारी रहेको संकेतका रूपमा निर्माण पक्षले प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार

सबै