काठमाडौं । जेकेएस इन्टरटेनमेन्टले नयाँ फिल्म ‘द प्रोफेसनल गाइज’ निर्माण गर्ने घोषणा गरेको छ। फिल्मको शीर्षक र क्रेडिट सार्वजनिक गर्दै निर्माण टिमले विशेष भिडियोमार्फत यसको घोषणा गरेको हो।
मार्टिन भण्डारी र डार्विन श्रेष्ठले फिल्मको लेखन तथा निर्देशन गर्नेछन्। अमन श्रेष्ठ सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरका रूपमा छन्।
अमन श्रेष्ठ र डार्विन श्रेष्ठ निर्माता रहेको फिल्ममा मार्टिन भण्डारी सह–निर्माताका रूपमा रहनेछन्।
‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ भन्ने स्लोगनसहित घोषणा गरिएको फिल्मको टाइटल अनाउन्समेन्ट भिडियो अन्य सामान्य घोषणाभन्दा फरक शैलीमा तयार गरिएको छ।
भिडियोमा शब्द, प्रस्तुति र दृश्य शैलीमार्फत फिल्मको विषयबारे तत्काल जानकारी नदिई दर्शकमा कौतुहलता जगाउने प्रयास गरिएको छ।
फिल्ममा रहने कलाकार, कथा तथा विषयवस्तु र निर्माण तथा प्रदर्शन मितिबारे भने निर्माण पक्षले केही खुलाएको छैन। यी विषयमा थप जानकारी पछि सार्वजनिक गरिने जनाइएको छ।