‘१२ गाउँ २’को नयाँ गीत ‘लालीगुराँस’मा समीर–कृशुको प्रेम

0 Shares

काठमाडौं । फिल्म ‘१२ गाउँ २’को प्रेमिल गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा शिव परियार र सारोही कुमारले स्वर दिएका छन् भने युग भुसालले शब्द तथा संगीत दिएका छन्।

प्रेम र समर्पणलाई केन्द्रमा राखिएको गीतमा प्रकृतिलाई बिम्ब बनाएर प्रेममा परेका युवक–युवतीका भावना र कल्पना प्रस्तुत गरिएको छ। मायालुको सम्झना र उसको नामसँग जोडिएको जीवनको भावलाई पनि गीतले समेटेको छ।

गीतको भिडियोमा समीर भट्ट र कृशु शाहीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूले भिडियोमा नृत्यसमेत गरेका छन्। रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा बनेको फिल्ममा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

कृशु शाही र वर्षा इटनीले यही फिल्मबाट नेपाली फिल्ममा डेब्यु गर्दैछन्।

सन्तोष सरकारको कथा रहेको फिल्ममा महेश पौडेलको छायांकन, युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

सम्बन्धित समाचार

सबै