दशैंको रंगमा ‘परिवार’को ‘रातो टिका’

0 Shares

काठमाडौं । फिल्म ‘परिवार’ले दशैं लक्षित गीत ‘रातो टिका’ सार्वजनिक गरेको छ । कार्तिक १३ गते रिलिज हुने फिल्मको सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ भने बबी लिम्बुले स्वरमा साथ दिएकी छन् ।

बाबुल गिरीकै एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको गीत स्वरांकन स्टुडियोमा रेकर्ड गरिएको हो । दशैंको टीका लगाएपछि परिवार तथा आफन्तसँग रमाइलो गर्दाको माहोललाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायत कलाकार देखिएका छन् । लिङ्गे पिङ, सजाइएका घर र सफा आँगनले भिडियोमा गाउँघरको दशैंको वातावरणलाई थप जीवन्त बनाएको छ ।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत फिल्मको दोस्रो प्रचार सामग्रीका रूपमा आएको हो । यसअघि फिल्मको फस्टलुक र टिजर सार्वजनिक भइसकेका छन् ।

मदन थापाको निर्देशनमा बनेको फिल्म ‘परिवार’ रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण गरिएको फिल्मको कथा पारिवारिक सम्बन्ध र दाम्पत्य जीवन वरपर केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन छ ।

रमेश शाही निर्माता, कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माता रहेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतको अभिनय छ ।

सम्बन्धित समाचार

सबै