
‘होस्टेल ३’ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । घोषणा अनुसार सिनेमा आगामी फागुन २३ गते रिलिज हुनेछ । यो मितिमा सिनेमा नेपालसँगै डायस्पोरामा समेत रिलिज हुनेछ।
सिनेमाका निर्देशक सशान कँडेल हुन् । यो उनको डेब्यू निर्देशन हो ।
सार्वजनिक फर्स्टलुक पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा प्रस्तुत गरिएको छ, जसले सिनेमामा कमेडी फ्लेवर रहेको देखाउँछ।
पोस्टरमा सिनेमाका मुख्य पुरुष पात्रहरूले बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ । यी चार मुख्य पात्रहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङ हुन् ।
सिनेमाको पोस्टरले कथावस्तु रमाइलो र जीवन्त हुने संकेत गरेको छ । ‘होस्टेल ३’ले कलेज जीवनका संघर्ष, मित्रता र रमाइला क्षणहरूको कथा देखाउने अपेक्षा गरिएको छ । सिनेमाको कथा निर्देशन कँडेल र पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा ‘होस्टेल ३’ निर्माण गरेको हो । सिनेमाको निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शंकर कोइराला छन् ।
सिनेमामा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमामा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफी, सुदिप कुँवर मुख्य सहायक निर्देशन, यम प्रसाद ओली प्रोडक्सन डिजाइन रहेको छ ।
सिनेमामा अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । सिनेमालाई नेपालमा काफिया फिल्मस् र आरआर फिल्मस्ले वितरण गर्नेछन् ।