‘बाः एक योद्धा’ले १० दिनमा गर्‍यो १ करोड ९३ लाखको ग्रस

0 Shares

फिल्म ‘बाः एक योद्धा’ले दोस्रो साताको प्रदर्शनमा उत्साहजनक व्यापार गरिरहेको छ। फिल्मले १० दिनमा १ करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ।

गत शुक्रबारबाट रिलिज भएको फिल्म १० दिनमा ६५ हजार ५ सय ६० दर्शकसम्म पुगेको छ। सुरुवाती चार/पाँच दिनपछि दर्शकको साथ बढ्दै गएसँगै फिल्मले अहिले राम्रो व्यापार गरिरहेको निर्देशक हरि लम्सालले बताए।

उनका अनुसार फिल्मको वर्ड अफ माउथ सकारात्मक छ। दर्शकको सकारात्मक प्रतिक्रियाका कारण शो थपिने क्रमसमेत बढिरहेको उनले बताए।

‘बाः एक योद्धा’ले सन्तानको भविष्यका लागि अभिभावकले गर्ने त्याग र संघर्षको कथा भन्छ। विशेषगरी बाबुको जीवनभरको संघर्ष, सन्तानका इच्छा पूरा गर्न गरिने प्रयास तथा वृद्ध अवस्थामा अभिभावकले भोग्ने उपेक्षा र पीडालाई फिल्मले प्रस्तुत गरेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्।

सम्बन्धित समाचार

सबै