अनमोल केसी र प्रिन्सी खतिवडा स्टारर ‘बाटुलो जून’को टिजरले युट्युबमा राम्रो सुरुवात गरेको छ। शुक्रबार सार्वजनिक गरिएको टिजर तीन दिनमै नेपालमा फिल्म विधाअन्तर्गत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको हो।
टिजर नेपालसहित एक दर्जनभन्दा बढी देशमा ट्रेन्डिङमा रहेको निर्माणपक्षले जनाएको छ। सोमबार दिउँसोसम्म यसलाई ६ लाख ५० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्।
भुवन केसी निर्देशित फिल्मले पुरानो समयको प्रेमकथा भन्नेछ। तत्कालीन समयको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई फिल्ममा प्रस्तुत गरिएको छ।
टिजरमा अनमोलको नयाँ गेटअप, संवाद वाचन र अभिनयले दर्शकको ध्यान तानेको छ। प्रिन्सी खतिवडाको डेब्यु पनि यही फिल्मबाट हुँदैछ। टिजरमा उनको उपस्थितिलाई दर्शकले सकारात्मक रूपमा लिएको देखिन्छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म कात्तिक २६ गतेबाट प्रदर्शनमा आउनेछ। राजेश श्रेष्ठको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह–निर्माता छन्।
‘बाटुलो जून’ अनमोलको ‘जेरी अनटप’पछि प्रदर्शनमा आउन लागेको फिल्म हो।