‘आ बाट आमा २’ मा साहिल खानको सम्पादन कला

0 Shares

करिब २० वटा फिचर फिल्म र ४५० भन्दा बढी टिजर–ट्रेलर सम्पादन गरिसकेका साहिल खान अहिले ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन्। उनका लागि फिल्मको पूर्ण सम्पादन र टिजर–ट्रेलर निर्माण फरक प्रकृतिका सिर्जनात्मक अभ्यास हुन्।

खानका अनुसार पूर्ण फिल्म सम्पादनमा स्क्रिप्टको मर्म र कथाको न्यारेसनसँगै निर्देशकको भिजनलाई आत्मसात् गर्दै दृश्यको गति र भावनात्मक प्रवाह कायम गर्नुपर्ने हुन्छ। त्यसका लागि निर्देशक, लेखक तथा अन्य टिम सदस्यसँग निरन्तर छलफल र समन्वय आवश्यक पर्छ।

“फिल्म सम्पादन निकै अनुशासित, जिम्मेवार र जटिल विधा हो। स्क्रिप्टको मर्म समातेर निर्देशकको भिजनसँग तालमेल मिलाउँदै दर्शकको आँखालाई नबिझाउने गरी दृश्यको प्रवाह मिलाउनुपर्छ,” खानले भने।

तर टिजर र ट्रेलर सम्पादनमा भने आफ्नो सिर्जनशीलता प्रयोग गर्ने पर्याप्त ठाउँ हुने उनको भनाइ छ। छोटो समयभित्र फिल्मका प्रभावशाली दृश्य छनोट गरेर दर्शकमा उत्सुकता र कौतुहलता सिर्जना गर्नुपर्ने भएकाले टिजर–ट्रेलर सम्पादन आफूलाई अझ रोमाञ्चक लाग्ने खान बताउँछन्।

‘आ बाट आमा’ को पहिलो भागसमेत सम्पादन गरेका खानले उक्त फिल्मको सफलतापछि दोस्रो भागमा पनि सम्पादनको जिम्मेवारी सम्हालेका हुन्। पहिलो भागले बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको बताइएको छ।

‘आ बाट आमा २’ को टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाइसकेका छन्।

चन्द्र पन्त निर्देशित फिल्ममा पल शाह र मलिका महत मुख्य भूमिकामा छन्। पारिवारिक कथामा आधारित फिल्म आगामी असोज ३० गते बडादशैँको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै