‘पाँच पाण्डव’को दोस्रो पोस्टरमा इभा गिरी द्रोपदीको अवतारमा

0 Shares

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’ले दोस्रो पोस्टर सार्वजनिक गर्दै अभिनेत्री इभा गिरीको द्रोपदी लुक्स सार्वजनिक गरेको छ ।

पहिलो पोस्टरमा पाँच पाण्डवका चरित्रलाई प्रस्तुत गरेको फिल्मको दोस्रो पोस्टरमा इभालाई केन्द्रमा राखिएको छ । रातो सोल्जर कट ब्लाउज, रातै सारी र हल्का गहनामा देखिएकी इभाको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिन्छ ।

पोस्टरको पृष्ठभूमिमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलाले निर्वाह गरेका पाँच पाण्डवका चरित्रलाई राखिएको छ ।

निर्देशक वसन्त निरौलाका अनुसार इभा युवा पुस्तामाझ लोकप्रिय रहेकाले उनको द्रोपदी चरित्र पनि दर्शकले रुचाउने अपेक्षा निर्माणपक्षको छ ।

कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ । निर्देशक निरौलाका अनुसार फिल्म पूर्ण रूपमा डल्बी एटमस साउन्डमा तयार हुँदैछ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलासहित दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको अभिनय छ ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् । फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् ।

लेखक पौडेलले ‘पाँच पाण्डव’लाई ‘सोसल ड्रामा’का रूपमा परिभाषित गरेका छन् । उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

श्याम तामाङको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको फाइट डाइरेक्सन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम तथा पुकार धिमालको भीएफएक्स रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सबै