‘मिस ग्ल्याम वर्ल्ड नेपाल’का लागि २५ प्रतिस्पर्धी छनोट हुने

0 Shares

काठमाडौं । ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’का लागि काठमाडौंमा अडिसन सम्पन्न भएको छ। नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूको सहभागिता रहेको थियो।

क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सीआईएफटी)ले आयोजना गरेको प्रतियोगिताका लागि एक महिनाअघि आवेदन खुला गरिएको थियो।

अडिसनमा मिस नेपाल २००० उषा खड्गी, कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई र सीआईएफटीकी प्रमुख सुचिता सची निर्णायकका रूपमा सहभागी थिए।

अडिसनबाट २५ जना प्रतिस्पर्धी छनोट गरिनेछ। छनोट भएका प्रतियोगीलाई रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा बाह्य सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतनालाई मूल्यांकनको आधार बनाइएको छ।

सीआईएफटीले एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि नेपाली प्रतिनिधि छनोट गर्ने जनाएको छ।

‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’की विजेताले भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको ‘मिस ग्ल्याम वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

आयोजकले प्रतियोगितालाई फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीका लागि प्रतिभा प्रदर्शन र व्यावसायिक अवसरको खोजी गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा अघि बढाइएको जनाएको छ।

कलाकर्मी प्रतियोगिताको अफिसियल मिडिया पार्टनर हो।

सम्बन्धित समाचार

सबै