प्रेम पाएपछि `कबड्डी-५´ काजीको जीवन कसरी चल्छ ?

0 Shares

‘कबड्डी’ शृंखलाका अघिल्ला भागको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागमा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ– प्रेम पाएपछि जीवन कसरी चलाउने ? अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनको तयारीमा छ । पाँचौँ शृंखलामा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने दयाहाङले बताएका छन् ।

उनका अनुसार यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयले पार्ने प्रभाव देखाइनेछ । प्रेमपछि सुरु हुने व्यावहारिक जीवन र त्यसका लागि गर्नुपर्ने सम्झौता नै यसपटक काजीको कथाको महत्वपूर्ण पाटो बनेको उनले बताए ।

‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ उनले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’

दयाहाङका अनुसार पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि क्रमशः परिवर्तन हुँदै गएको छ । त्यसैले यसपटकको काजीलाई विगतका भागमा देखिएको काजीभन्दा केही फरक रूपमा दर्शकले पाउनेछन् ।
मैयाँ फर्किएपछि काजीमा आएको परिवर्तन

‘कबड्डी’ शृंखलाको सुरुदेखिकै मैयाँसँगको सम्बन्ध महत्वपूर्ण पक्ष हो । पाँचौँ भागमा फेरि मैयाँसँगको भेट हुँदा काजीको मनमा पुरानो प्रेमले ल्याउने हलचल स्वाभाविक हुने दयाहाङ बताउँछन् । तर यसपटक काजीको प्राथमिकता पहिलेको जस्तो केवल प्रेम प्राप्तिमा सीमित नरहेको उनको भनाइ छ ।

‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ अभिनेता राईले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’
आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ जीवनभर काजीले गरेको प्रेम फेरि फर्केर आउँदा उसमा एकपटक हलचल हुने उनले बताए ।
‘हरेकको जीवनमा त्यो हुन्छ होला नि । एउटा उमेरसम्म यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ भन्ने हुन्छ । एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने, ‘त्यो सबै चिजसँग उसले ट्याकल गर्दै जाँदा सम्झौता पनि गर्दै जानेछ ।’

काजीको जीवनमा प्रेमसँगै राजनीतिका प्रभाव

‘कबड्डी ५’ मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देख्न पाइने दयाहाङले बताएका छन् । उनका अनुसार यसपटक राजनीतिक विषयलाई नै केन्द्रमा राखिएको छैन । तर समयसँगै आएको राजनीतिक परिवर्तनले पात्रको जीवन र मनोदशामा पार्ने प्रभाव भने देख्न सकिनेछ ।
‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन । दर्शकले अहिलेको अवस्थामा समयसँगै आएको परिवर्तनसँगको काजीको मनोदशा भने देख्न सक्नेछन् ।’

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको जवाफ भने दर्शकले फिल्म हेरेपछि मात्रै पाउने दयाहाङले बताए । त्यसका लागि कात्तिक ६ गतेसम्म पर्खिनुपर्ने उनको भनाइ छ ।
‘पाँचसम्म आइपुग्दा काजी मेरै साथी हो जस्तो लाग्छ’

काजीको चरित्रसँग लामो समयदेखिको सम्बन्धका कारण आफूलाई उक्त पात्रप्रति छुट्टै अपनत्व महसुस हुने दयाहाङले सुनाए ।

१५ वर्षअघिदेखि काजीको चरित्रसँग जोडिएर काम गर्दै आउँदा त्यो पात्र पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको उनले बताए ।

‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।

यसैबीच उनले ‘कबड्डी’को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय आफूलाई निकै कठिन लागेको स्मरण गरे । तर लामो यात्रामा पात्रलाई हेर्दा मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीलाई पनि अगाडि बढाउँदै लगेको उनको भनाइ छ ।

‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’

‘कबड्डी’ पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको १५ वर्षको जीवनयात्रासँग काम गर्न आफूलाई रमाइलो लागेको दयाहाङले बताए ।

काजीको कथा अझ परसम्म लैजाने दयाहाङको सोच
काजीसँगको आफ्नो लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रहरूलाई अझ परसम्म लैजाने सोचसमेत आफूमा रहेको दयाहाङले सुनाए ।

‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।

निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले त्यस्तो कथा बनाउने सोच राखेको उनले बताए । ‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।

लामो समय एउटै पात्रसँग काम गर्दा पात्रप्रति मोह जाग्ने र आफ्नै साथी जस्तो अनुभूति हुने उनको भनाइ छ ।

‘१५ वर्षअघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा त्यो पात्रप्रति माया लागेर आउने रहेछ, काजी अहिले हाम्रै साथीजस्तो फिल हुने हुन्छ ।’

सम्बन्धित समाचार

सबै