काठमाडौं । बलियो वर्ड अफ माउथका कारण फिल्म ‘बाः एक योद्धा’ले तेस्रो सातामा पनि प्रदर्शनलाई निरन्तरता दिएको छ। पारिवारिक कथा र बाबुको त्याग तथा संघर्षलाई पर्दामा उतारेको फिल्मलाई दर्शकले हेर्नैपर्ने फिल्म भन्दै प्रशंसा गरेका छन्।
निर्देशक हरि लम्सालसहित कलाकार तथा निर्माण टिम हेटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरालगायत सहरमा दर्शकसँग भेटघाट गरेर काठमाडौं फर्किएको छ।
“काठमाडौंमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभयो। दर्शकको माया र साथले हामी तेस्रो सातामा प्रदर्शन गरिरहेका छौं,” निर्देशक लम्सालले भने।
फिल्मले प्रदर्शनको १० दिनमा १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ। फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।