धितोबिनै महिला उद्यममा लगानी गर्ने ‘सिम्रिक इनिसिएटिभ’ सुरु

0 Shares

काठमाडौं । महिला उद्यमीलाई पूँजी र वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरेको छ। यस पहलले घरजग्गा धितो नभएका कारण कर्जा तथा लगानीबाट वञ्चित सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकता दिनेछ।

ललितपुरस्थित द प्लाजामा शुक्रबार आयोजित कार्यक्रममा संयुक्त दिगो विकास लक्ष्य कोष, खाद्य तथा कृषि सङ्गठन (एफएओ) र ह्यान्ड-इन-ह्यान्ड इनिसिएटिभसँगको सहकार्यमा कार्यक्रम शुभारम्भ गरिएको हो। ‘महिलाका लागि, महिलाद्वारा’ भन्ने अवधारणामा आधारित यस पहलअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत निजी इक्विटी फन्ड ‘सिम्रिक फन्ड’ मार्फत महिला नेतृत्वका उद्यममा लगानी गरिनेछ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी फन्डको मुख्य लगानीकर्ता हो।

आध्यन्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले परम्परागत वित्तीय प्रणालीले घरजग्गालाई प्राथमिकता दिँदा व्यवसायको वास्तविक सम्भावना र आम्दानी क्षमतालाई पर्याप्त महत्त्व दिन नसकेको बताए। उनका अनुसार बैंकबाट कर्जा नपाउनु र कुनै व्यवसाय लगानीयोग्य नहुनु फरक विषय हुन्।

कार्यक्रमकी प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले धितो अभावका कारण सम्भावनायुक्त व्यवसाय रोकिने अवस्था अन्त्य गर्नुपर्ने बताइन्। उत्पादन र रोजगारी सिर्जना गर्ने उद्यममा लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिइन्।

सिम्रिक इनिसिएटिभले पूँजी, कर्जा तथा ग्यारेन्टी र व्यावसायिक क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्नेछ। व्यवसायको नगद प्रवाह र सञ्चालन क्षमताका आधारमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिनेछ।

यसैक्रममा आध्यन्त फन्ड म्यानेजमेन्ट र ग्लोबल आईएमई बैंकबीच बैंकिङ साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यस्तै, एफएओ नेपाल र संयुक्त दिगो विकास लक्ष्य कोषसँगको सहकार्यमा कृषि तथा खाद्य मूल्य शृङ्खलामा आबद्ध २० महिला नेतृत्वका उद्यमलाई वित्तीय योजना, ब्रान्डिङ र लगानीका लागि तयार पार्न सहयोग भइरहेको आयोजकले जनाएको छ।

यस पहलको लक्ष्य महिला उद्यमीलाई वित्तीय स्रोतमा पहुँच दिलाउनुका साथै उनीहरूको व्यावसायिक क्षमता र बजार विस्तारमा सहयोग गर्नु हो।

सम्बन्धित समाचार

सबै