‘कार्साङ’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ ।
सिनेमाले ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।
डीपी खनालले लेखेको यो गीतमा एसडी योगीको संगीत छ भने गायनमा एडी योडी र गायिका रेश्मा पुन मगरको स्वर रहेको छ । यस्तै एरेन्ज रिकेश गुरुङको छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।
प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ ।
सिनेमा पुस २६ गते रिलिज हुँदैछ ।
‘कार्साङ’लाई डेब्यू निर्देशक यम शेर्पाले निर्देशन गरेका हुन् । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।
सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।
सिनेमाले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ ।
सिनेमा ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु सिनेमा हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।