काठमाडौं : फिल्म ‘अक्षरा’मार्फत दर्शकमाझ देखिइरहेका अभिनेता पुस्कर राउत नयाँ फिल्म ‘बाकस’मा अनुबन्धित भएका छन्। निर्देशक नवीन पन्तले शनिबार राउतलाई फिल्ममा अनुबन्ध गरेका हुन्।
फिल्ममा राउतको भूमिका कस्तो हुनेछ भन्ने विषयमा निर्देशक पन्तले अहिले खुलाउन चाहेनन्। “फिल्मको कथावस्तुअनुसार नै उहाँलाई अनुबन्ध गरिएको हो। उहाँको भूमिकाबारे पछि भनौँला,” उनले भने।
राउतले यसअघि ‘कम्पन’, ‘एकलव्य’ र ‘आँधी तुफान’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। हाल प्रदर्शनरत ‘अक्षरा’पछि उनी ‘बाकस’मार्फत दर्शकमाझ आउने तयारीमा छन्।
फिल्ममा यसअघि महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा र सुपला सापकोटालगायत कलाकार अनुबन्ध भइसकेका छन्।
सुजिता चौलागाईंको निर्माणमा बन्ने फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता तथा धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माताका रूपमा छन्।
दीपक शर्मा र सनम पुरुष राईले फिल्ममा संगीत दिनेछन्। गीतका शब्द तथा रचना दीपक शर्मा र निर्देशक पन्तको रहनेछ।
आगामी महिनादेखि छायांकन सुरु हुने फिल्ममा मनि तामाङ मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द्व निर्देशक र निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा छन्।