काठमाडौं : भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गीतमा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडाको रोमान्टिक दृश्य देख्न सकिन्छ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माले स्वर दिएका छन्। गीतको भिडियो विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।
भव्य निर्माण र गीतको आकर्षक प्रस्तुतिका लागि परिचित भुवन केसीले यस गीतमा पनि आफ्नो शैलीलाई निरन्तरता दिएका छन्। गीतको अडियोसँगै भिडियोले पनि दर्शकको ध्यान खिच्ने देखिन्छ। विशेषगरी, यसले फिल्मको टिजरमा देखाइएको कथा र परिवेशलाई थप विस्तार गरेको छ।
खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले पुरानो समयको ग्रामीण परिवेश सम्झाउँछन्। गीतको प्रस्तुतिमा देखिएको यही शैलीले यसलाई सामान्य गीतका भिडियोभन्दा फरक बनाएको छ।
टिजरमा अनमोलको लुक सार्वजनिक हुँदा धेरैले उनलाई पिता भुवन केसीको झल्को दिने प्रतिक्रिया दिएका थिए। गीतमा उनको हाउभाउ र रोमान्टिक शैलीले भुवनका पुराना गीतहरूको सम्झना गराउँछ।
फिल्मबाट डेब्यु गर्न लागेकी प्रिन्सी खतिवडाले पनि गीतमा आफ्नो अभिव्यक्ति र अभिनय शैलीमार्फत सम्भावना देखाएकी छन्। गीतका शब्दअनुसार प्रस्तुत उनका हाउभाउमा पुरानो समयकी अभिनेत्री कृष्टि केसीको झल्को देखिन्छ।
भुवन केसीको दोस्रो निर्देशकीय फिल्ममा भुवनसँगै गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ।
राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन्। जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सहनिर्माताका रूपमा छन्।