काठमाडौं : रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को नयाँ गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक गरिएको छ। घटस्थापनाको अवसरमा सार्वजनिक गीतमा अञ्जु पन्त र सत्यराज आचार्यले स्वर दिएका छन्। गीतका शब्द सुरेश अधिकारीका हुन्।
फिल्मको प्रचारात्मक अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक गरिएको गीतले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाउने अपेक्षा गरिएको छ।
पारिवारिक कथामा आधारित फिल्ममा रेखा थापा मुख्य भूमिकामा छिन्। उनीसँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्। विभिन्न पुस्ताका परिचित कलाकारको जमघटले फिल्मलाई थप चासोको विषय बनाएको छ।
रेखा फिल्म्सको ब्यानरमा बनेको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा जोडिएको छ। सबिर श्रेष्ठ निर्देशित फिल्मले पारिवारिक सम्बन्ध, मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई पर्दामा उतार्नेछ।
फिल्म आगामी मंसिर १७ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।