चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत नौवटा नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ। बोर्डको विवरणअनुसार सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा ‘गौँथली’ रहेको छ। यसले २५ असोज (आइतबार) सम्म ९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्रीबाट २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाइ गरेको छ। यो २०८३ सालमा अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म हो।
कमाइका हिसाबले ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा उक्लिएको छ। फिल्मले ‘लालीबजार’को ९ करोड ३२ लाख रुपैयाँको कमाइलाई उछिनेको हो। तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ। यस अवधिमा फिल्मका ३ लाख ४७ हजार ८८२ वटा टिकट बिक्री भएका छन्।
‘पेन्सन पट्टा’पछि कमाइका आधारमा ‘बाः एक योद्धा’ तेस्रो स्थानमा छ। बोर्डको सिनेपाः विवरणअनुसार फिल्मले आइतबारसम्म ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको छ। पछिल्लो सात दिनमा मात्रै फिल्मले १ करोड १२ लाख १६ हजार रुपैयाँभन्दा बढी कमाएको छ। फिल्मका १ लाख ७ हजार ५३३ वटा टिकट बिक्री भएका छन्।
बोर्डको विवरणअनुसार ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ, ‘झिँगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ ग्रस कमाएका छन्।
त्यस्तै, ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन्।