‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक, भारतभर प्रदर्शन हुने पहिलो नेपाली फिल्मको दाबी,

0 Shares

काठमाडौं । नेपाली फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ। दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। नेपालको मौलिकता, इतिहास र संस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित निर्माण गरिएको फिल्म सर्भाइभल कथामा आधारित छ।

निर्देशक धिराज राजवंशीका अनुसार फिल्म भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै सबटाइटलसहित प्रदर्शन हुनेछ। भारतीय वितरक एए फिल्म्ससँग सम्झौता भइसकेको यस फिल्मलाई डबिङ नगरी मौलिक भाषामै प्रदर्शन गर्ने निर्णय गरिएको उनले बताए।

“म नेपालको मौलिकता विश्वमाझ देखाउन चाहन्थेँ। डबिङ गर्दा फिल्मको वास्तविक अनुभूति नआउन सक्छ,” राजवंशीले ट्रेलर सार्वजनिक कार्यक्रममा भने।

फिल्ममा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय छ। निर्देशक राजवंशीले गीत नराखिएको फिल्ममा पृष्ठभूमि संगीत र प्राविधिक प्रस्तुतिलाई विशेष महत्व दिइएको बताए।

अभिनेत्री परीक्षा लिम्बूले फिल्मलाई आफ्ना अघिल्ला कामभन्दा भिन्न अनुभवका रूपमा व्याख्या गरिन्। उनका अनुसार फिल्मले जीवनबाट सबै कुरा गुमाउँदा मानिससँग के बाँकी रहन्छ भन्ने प्रश्न उठाउँछ। महिला पात्रलाई केन्द्रमा राखिएको सर्भाइभल कथा भएकाले पनि यो फिल्म उनका लागि विशेष रहेको उनले बताइन्।

अभिनेता कर्मा शाक्यले पनि फिल्मको पटकथा नियमित नेपाली फिल्मभन्दा फरक रहेको बताए। महिला प्रधान कथाले नेपाली फिल्मको बजार विस्तारमा योगदान दिन सक्ने उनको विश्वास छ।

निर्माण पक्षका अनुसार ‘हिमालयन गोल्ड’ सम्पूर्ण भारतमा एकसाथ प्रदर्शन हुने अवसर पाउने पहिलो नेपाली फिल्म हो। मुम्बईमा एए फिल्म्सका संस्थापक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ। उक्त कम्पनीले ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’ र ‘पुष्पा’लगायतका चर्चित फिल्म वितरण गरेको छ।

फिल्मका वितरक तथा निर्माता नकिम उद्दिनले भारतसँगै जापानलगायतका अन्तर्राष्ट्रिय बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए। मौलिक कथामा आधारित नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमा अवसर पाउनु समग्र उद्योगका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।

दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय समेटिएको फिल्मले नेपाली भाषामै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

सबै